मुसियालाकाे खुट्टामा गम्भीर चोट, कम्तिमा पाँच महिना मैदानबाहिर रहने

मुसियालाकाे खुट्टामा गम्भीर चोट, कम्तिमा पाँच महिना मैदानबाहिर रहने

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । बायर्न म्युनिखका युवास्टार जमाल मुसियालाकाे देब्रे खुट्टामा गम्भीर चोट लागेको छ।

क्लब विश्वकपको क्वार्टरफाइनलमा पेरिस सेन्ट-जर्मेनविरुद्धको खेलमा गोलकिपर जियानलुइगी डोनारुम्मा र डिफेन्डर विलियन पाचोसँग बल खोस्ने क्रममा उनको देब्रे खुट्टा पूर्ण रूपमा बटारिएको थियो। मेडिकल रिपोर्टहरूले उनको देब्रे खुट्टाको फिबुला भाँचेको र केही लिगामेन्टमा पनि क्षति पुगेको पुष्टि गरेका छन्।

यो चोटका कारण २१ वर्षीय स्टार चारदेखि पाँच महिना मैदानबाहिर रहनेछन्। यसको अर्थ उनी २०२५-२६ बुन्डेसलिगा सिजनको सुरुका साथै च्याम्पियन्स लिग समूह चरणका महत्त्वपूर्ण खेलहरू पनि गुमाउन सक्नेछन्। यो बायर्न म्युनिखका लागि ठूलो धक्का हो, किनकि मुसियाला टोलीका एक प्रमुख रचनात्मक खेलाडी हुन्।

मुसियाला टोलीसँग आइतबार घर नफर्किई अमेरिकामा नै शल्यक्रिया गर्न सक्ने सम्भावना छ।

यो चोट बायर्न म्युनिख र जर्मनी दुवैका लागि ठूलो धक्का हो। मुसियाला तीन महिनाअघि मांशपेसीको चोटबाट फर्किएका थिए । उनले यसअघि बुन्डेसलिगा सिजन र जर्मनीका लागि नेसन्स लिग फाइनल गुमाएका थिए। बायर्नले अब उनको स्थानमा अन्य युवा खेलाडीहरूलाई मौका दिनुपर्ने देखिन्छ ।

Logo