फ्रान्सलाई हराउँदै १० खेलाडीमा सीमित जर्मनी सेमिफाइनलमा

फ्रान्सलाई हराउँदै १० खेलाडीमा सीमित जर्मनी सेमिफाइनलमा

केन्द्रबिन्दु
108
Shares

काठमाडाैं । जर्मनी युरो २०२५ को सेमिफाइनलमा प्रवेश गरेकाे छ । क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै जर्मनीले सेमिफाइनलमा स्थान बनाएको हाे ।

राेमाञ्चक खेलमा जर्मनी १३औं मिनेटदेखि १० खेलाडीमा सीमित भएको थियो।

खेलको १३औं मिनेटमा जर्मनीकी क्याथरिन हेन्ड्रिचले फ्रान्सकी ग्रिड्ज एमबोकको कपाल तानेपछि उनलाई सीधै रातो कार्ड देखाइएको थियो। भीएआरको सहायतामा हेन्ड्रिचलाई रातो कार्ड दिइनुका साथै फ्रान्सले पेनाल्टी पायो, जसमा ग्रेस गेयोरोले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाइन्।

तर, २५ औं मिनेटमा जर्मनीकी स्जोके नुस्केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् । डेलफिन कास्कारिनोले पहिलो हाफअघि अफसाइडका कारण एउटा गोल गुमाएकी थिइन् ।

चेल्सीकी मिडफिल्डर नुस्केनले जर्मनीलाई अग्रता दिलाउने अवसर गुमाइन्। जुले ब्रान्डलाई सेल्मा बाचाले फाउल गरेपछि जर्मनीले पेनाल्टी पायो, तर नुस्केनले प्रहार गरेको पेनाल्टी सिधै पाउलिन पेयराउड-म्याग्निनको हातमा पुग्यो।

खेल अतिरिक्त समयसम्म पुगेपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेकाे थियाे । जर्मनीले आफ्ना सातमध्ये एक बाहेक सबै स्पट-किक गोलमा परिणत गर्यो। गोलकिपर आन-क्याट्रिन बर्गर, जसले खेलभरि उत्कृष्ट बचाउ गरेकी थिइन्, उनी पेनाल्टी सुटआउटकी हिरो बनिन्। उनले एमएल माज्री र एलिस सोम्बाथ दुवैको प्रहारलाई विफल पार्दै टोलीलाई ६-५ को जित दिलाइन्।

जर्मनीले अब बुधबार जुरिचको स्टेडियन लेट्जिग्रन्डमा विश्व च्याम्पियन स्पेनसँग सेमिफाइनल खेल्नेछ ।

Logo