काठमाडौं
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हालसम्मका नेपाली ओलम्पियनलाई साउन देखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिक देखि सहभागिता जनाउन शुरु गरेको थियो ।
त्यस्तै पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । ९४ स्वर्ण पदकधारीलाई मासिक पाँच हजारका दरले कुल ४० लाख वितरण गरियो । ०७४ मंसिर देखि २०७५ असार सम्म जम्मा आठ महिनाको मासिक पाँच हजारका दरले दिनु पर्ने पुरस्कार वितरण गरिएको हो।
त्यस्तै एसियाली खेलकूदका पदक विजेतालाई पनि २०७४ मंसिर देखि २०७५ असार सम्म आठ महिनाको एक पदकका लागि पाँच हजारका दरले रकम प्रदान गरिएको थियो । आठ जनालाई जम्मा चार लाख ४० हजार वितरण गरिएको छ । आर्थिक वर्ष २०७४/ ७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४१२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार प्रदान गरियो ।
त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए । तीस खेलकै उत्कृष्ट पुरुष, महिला खेलाडीले जनही १५ हजार पाए । तेक्वान्दोको हकमा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष, महिला खेलाडी चयन गरिएकाले चारै जनालाई जनही सात हजार ५०० नगद पुरस्कार दिइयो ।
रासस































प्रतिक्रिया