काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेको नेपाल अब सुपर सिक्स चरणमा प्रवेश गरेको छ। ओमानमा जारी प्रतियोगितामा नेपालले समूह ‘बी’ बाट विजेता बन्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेको हो।
नेपालले समूह चरणका दुवै खेलमा जित हासिल गरी ४ अंक बटुल्यो। समूह विजेता बनेका कारण नेपालले २ क्यारी ओभर अंक सहित सुपर सिक्सको यात्रा सुरु गरेको छ।
नेपालले सुपर सिक्समा कोसँग खेल्छ ?
समूह ‘बी’ को विजेताको रूपमा, नेपालले अब समूह ‘ए’ र समूह ‘सी’ बाट छनोट भएका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो समूहको उपविजेता (जापान) सँगको खेलको अंक (२ अंक) बोकेर जानेछ र त्यसबाहेकका चार टोलीसँग खेल्नेछ।
समूह ‘ए’ र ‘सी’ बाट सुपर सिक्समा पुगेका टोलीहरू:
समूह ‘ए’: संयुक्त अरब इमिरेट्स – विजेता (२ क्यारी ओभर अंक), कतार उपविजेता
समूह ‘सी’: ओमान – विजेता (२ क्यारी ओभर अंक), सामोआ उपविजेता
सुपर सिक्समा ६ टोली छन् र हरेक टोलीले कुल ४-४ खेल खेल्नेछन् । सुपर सिक्सको समाप्तिमा शीर्ष तीन स्थानमा रहने टोलीहरू भारत र श्रीलङ्कामा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट हुनेछन्। नेपाल, ओमान र यूएईले समान २-२ अंक बोकेर सुपर सिक्स सुरु गरेकाले विश्वकपमा छनोट हुनका लागि नेपाललाई बाँकी चार खेलमध्ये अधिकतम जित हासिल गर्नु आवश्यक छ। नेपाललाई विश्वकपमा स्थान सुरक्षित गर्न थप २ देखि ३ जित महत्त्वपूर्ण हुनेछ।
नेपालले सुपर सिक्सको पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्ने पक्का भइसकेको छ । नेपाल र यूएईबीचको खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ । त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र बिहीबार ओमानसँग खेल्नेछ । नेपालले ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । २ जित मात्र निकालेमा रनरेटले छिनोफानो हुनसक्छ । नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ ।































प्रतिक्रिया