काठमाडाैं । साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार प्रदर्शन गर्दै अल फतहमाथि ५-१ गोलको फराकिलो जित दर्ता गरेको छ ।
अल नासरको जितमा पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सले उत्कृष्ट ह्याट्रिक गरे भने विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डो र किङ्स्ले कोम्यानले एक-एक गोल थपे।
खेलको १३ औं मिनेटमा जोआओ फेलिक्सले पहिलो गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको सुरुमै अल फतहका लागि सोफियान बेन्देब्काले ५४ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
त्यसपछि भने अल नासरले गोल वर्षा गर्न थाल्यो। खेलको ६८ औं मिनेटमा फेलिक्सले आफ्नो दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ७५ औं मिनेटमा किङ्स्ले कोम्यानले गोल गरेपछि स्कोर ३-१ पुग्यो। त्यसको लगत्तै, ७९ औं मिनेटमा जोआओ फेलिक्सले व्यक्तिगत ह्याट्रिक पूरा गरे।
अल नासरको लागि अन्तिम गोल ८० औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गरे। रोनाल्डोको गोलसँगै अल नासरले अल फतहलाई ५-१ को भारी गोल अन्तरले पराजित गर्न सफल भयो।































प्रतिक्रिया