विश्वकपमा प्रेमिका (भिडियोसहित)

विश्वकपमा प्रेमिका (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

विश्वकप फुटबल प्रतियोगिता विश्वकै सर्वाधिक चासो रहने खेलकुद प्रतियोगिता हो । यो प्रतियोगितामा खेलले जति चर्चा पाउछ त्यत्तिनै चर्चा ति टिमका समर्थकहरुले देखाउने ग्ल्यामरस छवि र खेलाडीहरुले आफ्नो समर्थनमा लगेका प्रेमिका र श्रीमतीहरुको हाउभाउले बनाइरहेको हुन्छ ।

विश्वकप फुटबल प्रतियोगितालाई विवादमा ल्याउन र चर्चामा ल्याउन खेलाडीहरुका प्रेमीका र श्रीमतीहरुको भुमिका रहेको बर्षौ भैसक्यो । यो विवाद र चर्चा सेलाउनुको सट्टा झन् झन् बढ्दै गएको छ ।

एक महिना लामो यो प्रतियोगितामा आफ्ना प्रेमिका र श्रीमती भेट्न नपाएर खेलाडीहरु बैरागिने हुन् कि ? यात यसैको असर मैदानमा देखिएर पराजित पो हुने हो कि भन्ने चिन्ता अहिले धेरै टिमका ब्यवस्थापकलाई पर्ने गरेको छ । सन् ९० को दशकसम्म पनि धेरै टिमका ब्यवस्थापकहरु विच यो बिषयमा मतभिन्नता रहेको थियो ।

केही टिमका ब्यवस्थापकहरु खेलाडीहरु आफ्ना प्रेमिकाको साथमा रहेमा खेल तिर ध्यान दिदैनन्, प्रतियोगिताको अगाडी यौनसम्बन्ध राखेमा मैदानमा राम्रो प्रदर्शन गर्न सक्दैनन् भन्ने जस्ता तर्कहरु दिएर खेलाडीहरुलाई प्रेमिका र श्रीमती भेट्नवाट बन्चित गर्ने गर्थे ।

सन् २००२ मा जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकप फुटबल प्रतियोगितासम्म पनि केही मुलुकले खेलाडीहरुलाई आफ्नो प्रेमिका र श्रीमतीलाई साथै लैजान नपाउने नै गर्थे । पछि प्रशिक्षक र टिम ब्यवस्थापकहरु खेलाडीका प्रेमीका र श्रीमतीहरु प्रति बढी उदार हुन थाले । जसको कारण फुटबलमा जन्म भयो ‘वेग्ज्’ (वाईफ एण्ड गर्लफ्रेण्ड) को अवधारण ।

यो वेग्ज्को अवधारणालाई बढी नै मलजल गर्ने काम भने ईंगलिस फुटबल टिमले नै गर्ने गरेको छ । डेभिड बेकह्याम ईंगलिस टिममा रहदा उनकी गायिका श्रीमती भिक्टोरिया बेकह्यामको ग्ल्यामरस छविले धेरै नै काम गरेको थियो । ब्यवशायिक फुटबल खेलेर मनग्य आम्दानी गर्ने अन्य क्लव र टिमका खेलाडीका प्रेमीका र श्रीमतीहरु पनि ईंगलिस फुटबलरहरुको नक्कल गर्दै जान थाले जसको कारण अहिले विश्वकप फुटबल प्रतियोगितामा खेल्ने खेलाडीहरुको नामावली प्रकाशित भएसगै वेग्ज्लाई लैजान पाउने कि नपाउने भन्ने बिषयमा चर्चा हुन थाल्छ ।

विश्वकपको पूर्वसंध्यामा विश्वकप फुटबलले जति दर्शकलाई तान्छ त्यत्तिनै उनीहरुका प्रेमीका र श्रीमतीको हाउभाउले रंगशालामा रहेका र विश्वभर टेलिभिजनवाट हेरिरहेका दर्शकलाई मोहित पारिरहेको हुन्छ ।

सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा सहभागि भएको ईंग्ल्याण्ड टिमका खेलाडीहरुले प्रतियोगिताको समयमा प्रेमिका र श्रीमतीलाई साथै लैजानु पर्छ भनेर टिमका खेलाडीहरुले चर्कै आवाज उठाए । ति खेलाडीहरुको कुरोलाई तत्कालिन प्रशिक्षक फाबियो कापेलोले सुन्नेवाला नै थिएनन् ।

अन्तमा प्रशिक्षक कापेलोको पनि मान रहने र खेलाडीहरुको पनि चित्त नदुखोस् भने विचको वाटो अपनाईयो । यो उपाय अनुसार खेलाडीहरुले आफ्ना प्रेमिका र श्रीमतीलाई साताको एक पटक मात्र भेट दिने निर्णय गरियो । यसपटकको विश्वकपमा ईंग्ल्याण्ड परेपछि नै विश्वकप टिममा पर्ने सम्भावित खेलाडीका प्रेमीका र श्रीमतीहरु आफुहरु आफ्ना श्रीमान्को समर्थनमा जान पाउनुपर्छ भनेर आवाज उठाउन थालिसकेका छन् । ईंग्ल्याण्डका खेलाडीका प्रेमिका र श्रीमतीहरुले बुलन्द गरेको यो आवाज विश्वकपको फाइनलमा परेका अन्य ३१ राष्ट्रका खेलाडीका प्रेमिका र श्रीमतीले, हामी पनि जान पाउनु पर्छ भन्ने कुरा निकाल्ने पक्का देखिएको छ ।

विश्वकपको पूर्वसंध्यामा युक्रेनमा भएको च्याम्पियन्स लीगमा रियल म्याड्रिडले लिभिरपुललाई पराजित गरेपछि क्रिष्टियानो रोनाल्डो र उनको प्रेमिका जर्जिना रोड्रिगुएजले गरेको चुम्बनले चर्चा पाएको थियो । पोर्चुगल टिमका कप्तान क्रिष्टियानो रोनाल्डो मैदान भित्र जति चर्चित छन् मैदान बाहिर प्रेमिकाका कारण अझ बढी चर्चित रहेका छन् ।

करिव आधा दर्जन युवतीसंग प्रेमसम्बन्ध कायम गरेका रोनाल्डोले सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा रसियन मोडल इरिना सायकलाई प्रेमिकाको रुपमा लिएर गएका थिए । त्यसको ४ बर्ष पछि रसियामा आयोजना हुने विश्वकपमा रोनाल्डोले स्पेनिस मोडल जर्जिनालाई लिएर जाने पक्का भएको छ । कृत्रिम गर्भाधानवाट तिन सन्तानका पिता भैसकेका रोनाल्डोले प्रेमिका जर्जिनावाट पनि एक सन्तान लाभ गरिसकेका छन् । च्याम्पियन्स लीगमा मैदानमै गएर श्रीमान्लाई चुम्बन गर्ने जर्जिनाले वल्र्डकपमा के छोड्लिन त ?

विश्वकपमा खेलाडीहरुले मैदान भित्र पाएको सफलताले जति चर्चित भैरहेका हुन्छन् उत्तिनै चर्चा उनीहरुको प्रेमिका र श्रीमतीको पनि भैरहेको हुन्छ । यस्तै चर्चित खेलाडीको चर्चित श्रीमतीमा पर्छिन् ल्याटिन गायिका सकिरा । स्पेनिश टिमको डिफेन्स लाइनअपवाट खेल्ने गेरार्ड प्याक्युकी श्रीमती सकिरा स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जित्दा देखिनै साथै छिन् । उक्त विश्वकपको अफिसियल सङ गाएरै सकिरा थप चर्चामा आएकी थिईन् । अझ यो विश्वकप स्पेनले नै जितेपछि सकिरा र गेरार्डको स्टेडियम भित्रको मायाले विश्वब्यापी चर्चा पाएको थियो ।

सम्भवत यो विश्वकपलाई अन्तिम विश्वकप ठानेका अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सि पनि परिवार सहित रसिया पुग्नेछन् । अर्जेन्टिनालाई गत विश्वकपमा फाइनलमा पुर्‍याएर पनि कप उचाल्न नपाएका मेस्सिकी बालसखी यो विश्वकपमा पनि मिडियाको चासो हुनेछिन् । ५ बर्षको उमेर देखि चिनजान रहेकी एन्टोनिला रोक्कुजोवाट दुई सन्तान जन्माएपछि मेस्सिले गत बर्ष मात्र विवाह गरेका थिए । विवाह पछि थप एक सन्तानका पिता बनेका मेस्सिलाई समर्थन गर्न रसिया पुग्ने एन्टोनिलाको हाउभाउ मेस्सिले मैदानमा पाउने सफलतासंगै हेर्न लायक हुने देखिन्छ ।

टर्कीस् मुलको भएपनि मेसुत ओजिल जर्मनी टिमका भरपर्दा खेलाडी हुन् । जर्मनीमा तेस्रो पुस्तादेखि बसोबास गर्दै आएका ओजिलले सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकप जित्दा गायिका प्रेमिका मेण्डी काप्रिस्टोलाई लिएर गएका थिए । तर विश्वकप पछि उनीहरु विच ठाकठुक पर्यो । यसपटक ओजिलले सन् २०१४ मा मिस टर्किको उपाधि जितेकी एमिनी गुल्सीलाई लिएर रसिया जाने भएका छन् । स्विडिस र टर्किस् चलचित्रमा अभिनय गर्ने एमिनीको उपस्थिती जर्मन टिमको उपाधि रक्षाको अभियानमा हेर्न लायक हुने देखिएको छ ।

फुटबल खेलाडीको प्रेमिका र श्रीमतीको चर्चा गर्दा ईंग्ल्याण्डको एउटा रमाईलो किस्सा रहेको छ । खेलकुदका विश्लेषकहरु के भन्छन् भने विश्वकप फुटबल आउदाँ आफ्ना खेलाडी श्रीमान् र प्रेमिसंग जान पाउनु पर्छ भनेर तिनै खेलाडीका प्रेमिका र श्रीमतीहरु सर्वाधिक कुर्लने गर्छन् ।

आफ्नो प्रेमिकालाई लैजान पाउनु पर्छ भनेर सर्वाधिक लबि गर्नेमा ईंग्ल्याण्डकै खेलाडीहरु रहेका छन् । उनीहरु एक आपसमै सल्लाह गरेर कराईरहेका हुन्छन् जस्तो लाग्छ । उनीहरुको तर्क पनि एउटै हुन्छ । हौसला बढाउने भनेकै प्रेमिकाले हो । तर विश्वकप फुटबलको प्रदर्शनलाई हेर्ने हो भने ईंग्ल्याण्डको टिमले सन् १९९० मा ईटालीले आयोजना गरेको विश्वकप देखि सेमिफाइनलको मुख अहिलेसम्म देख्न पाएको छैन ।

यिनै टिमका २४ बर्षिय कप्तान ह्यारी कानेको समर्थनमा उनको बाल्यकाल देखिकी प्रेमिका क्याथी गुडल्याण्ड पनि रसिया जाने भएकी छिन् । ट्विटरवाट विवाह गरेको सुचना दिने ह्यारीले गत जनवरीमा एक सन्तान जन्माईसकेका छन् । सम्भवत क्याथी बच्चालाई काखी च्यापेर श्रीमान्को समर्थन्मा रसियामा हुटिङ गर्नेछिन् ।

स्पेनिश टिमकै अर्का खेलाडी डेभिड डि गियाकी प्रेमिका पनि गायिका रहेकी छिन् । गोलकिपरको रुपमा रहेका डेभिडकी प्रेमिका इडुर्नी स्पेनकै चर्चित गायिका पनि हुन् । यिनी पनि आफ्ना प्रेमी र आफ्नो स्पेनिश टिमको समर्थनमा हुटिङ गरेका धेरै क्षणहरु स्पेनिस मिडियामा आउने देखिन्छ ।

ब्रजिलियन टिमका सबै खेलाडीहरुलाई हस्ति मानिन्छ । तिनै हस्तिहरु विचको पनि महान हस्तिको रुपमा नेयमर जुनियर रहेका छन् । पेरिस सेन्ट जेर्मन क्लववाट खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण नेयमर केही महिना देखि बेन्चमै बस्न बाध्य छन् । उनका चिकित्सकहरु अझै पनि नेयमर यो विश्वकपमा मैदान उत्रिन सक्छन् कि सक्दैनन् भनेर स्पष्ट उत्तर दिन सकिरहेका छैनन् । तर नेयमरकी प्रेमिका भने ब्राजिलको समर्थनमा रसियामा पुग्ने प्राय निश्चित भैसकेको छ । ब्राजिलियन मुलकी ब्रुना मार्कुजिन आफ्नै देशकी चर्चित अभिनेत्री र मोडल समेत हुन् । उनको धोको पनि त्यही छ आफ्नो प्रेमी मैदानमा उत्रियोस् र आफु घाँटी सुकुन्जेल हुटिङ गरौ भनेर ।

 

 

Skip This
Logo