एनपीएलको दोस्रो सिजनमा बढ्ला त सुदूरपश्चिमको शान ? [भिडियोसहित]

एनपीएलको दोस्रो सिजनमा बढ्ला त सुदूरपश्चिमको शान ? [भिडियोसहित]


काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन भोलि अर्थात् मंसिर १ गते सोमबारदेखि सुरु हुँदैछ । टियु क्रिकेट ग्राउण्डमा फ्लडलाइटको उज्यालोमा पहिलो पटक रात्रीकालीन खेलहरू आयोजना हुने यो सिजनले नेपाली क्रिकेट प्रेमीहरूलाई नयाँ स्तरको उत्साह प्रदान गर्दैछ । पहिलो सिजनको अपार सफलतापछि यो सिजनमा प्यारापिटमा बसेर खेल हेर्ने सुविधा र रात्रीकालीन खेलहरूको मज्जा लुट्ने अवसरले दर्शकहरूलाई थप आकर्षित गरेको छ ।

पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स यो सिजनमा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । टोलीले आफ्नो मजबुत कोरलाई कायम राख्दै नयाँ खेलाडीहरू थपेर सन्तुलित स्क्वाड निर्माण गरेको छ । कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोलीले आक्रामक ब्याटिङ र कडा बलिङलाई मुख्य रणनीतिका रूपमा अपनाउने योजना बनाएको छ । तयारीका क्रममा टोलीले अभ्यास क्याम्पहरू आयोजना गरेको छ र खेलाडीहरूको फिटनेस तथा स्किल विकासमा जोड दिइएको छ ।

रणनीतिका रूपमा, टोलीले पावर हिटिङलाई प्राथमिकता दिँदै ओपनिङमा विस्फोटक ब्याटिङ गर्ने र मध्यक्रममा स्थिरता कायम राख्ने सोचिरहेको छ । बलिङमा पेस र स्पिनको संयोजनले विपक्षीलाई दबाब दिने योजना छ । यसबाहेक, विदेशी खेलाडीहरूको अनुभवलाई प्रयोग गर्दै युवा नेपाली खेलाडीहरूलाई मेन्टरिङ गर्ने रणनीति अपनाइएको छ ।

सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि कप्तान दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे र नरेन साउदसहित ६ खेलाडीहरूलाई रिटेन गरेको छ । यी खेलाडीहरू पहिलो सिजनका मुख्य स्तम्भ थिए र टोलीको स्थिरताका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । त्यस्तै टोलीले अक्सनबाट सचिन भट्ट, आदित्य मेहता, मयान यादव र विकाश अग्रिलाई खरिद गरेर टोलीलाई अझै सशक्त बनाएको छ । त्यस्तै, टोलीले हेमन्त धामी, टेकबहादुर रावत, दीपेश थापा र दीपकलाई पनि टोलीमा समावेश गरेको छ ।

विदेशी खेलाडीहरूको कुरा गर्दा, सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेन र अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ । ‘लिनसनिटी’ उपनामले परिचित क्रिस लिनले ४१ टी–२०आईमा ११ सय ८७ रन बनाएका छन् । बिग ब्यासका रेकर्ड होल्डर उनी पावर हिटरका रुपमा परिचित छन् ।

त्यस्तै, न्युजिल्यान्डका स्कट कुगेलेइजन पहिलो सिजनमा सुदूरपश्चिमका सर्वाधिक विकेटकर्ता कुगेलेइजनलाई रिटेन गरिएको छ । उनले टोलीका लागि बलिङ र ब्याटिङ दुवैमा योगदान दिन्छन् । यस्तोमा क्रिस लिन जस्ता पावर हिटरहरूले सुदूरपश्चिमको ओपनिङलाई मजबुत बनाउने छन् भने कुगेलेन जस्ता अलराउन्डरहरूले बलिङमा गहिराइ थप्नेछन् ।

त्यस्तै सुदूरले बिगब्यास लिगका अर्का बिष्फोटक ब्याटर जोस ब्राउनलाई भित्राएर दोस्रो सिजनको एनपिएलमा रनको बर्षा नै गर्ने लक्ष्य राखेको छ । बिगब्यास लिगको एकै इनिङमा सर्वाधिक छक्का प्रहार गरेका जोस ब्राउनले केवल ५७ बलमा १४० रन बनाएर बिगब्यास लिगमा रेकर्ड नै आफ्नो नाममा लेखाउन सफल भएका थिए । यी खेलाडीहरूको अनुभवले टोलीलाई उपाधि दाबेदार बनाएको छ ।

पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले कुल ९ खेल खेलेर ७ जित र २ हार बेहोरेको थियो । लिग चरणमा ६ जित र १ हारसहित शीर्ष स्थानमा रहेको टोलीले क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराए पनि फाइनलमा जनकपुर बोल्ट्ससँग नै ५ विकेटले पराजित भएको थियो । टोलीले प्रतियोगिताभर कुल १ हजार ३ सय ७३ रन बनाएको थियो, जसमा उच्च स्कोर १८७ थियो ।

बलिङतर्फ टोलीले प्रतियोगिताभर ७८ विकेट लिएको थियो । समग्र प्रतियोगिताभर सुदूरपश्चिम रोयल्सका खेलाडीहरूको प्रदर्शन उत्कृष्ट नै रहेको थियो । टोलीका लागि सैफ जैबले समग्रमा २७५ रन बनाएर टोलीका लागि सबैभन्दा धेरै रनकर्ता बने । उनले लुम्बिनी लायन्सविरुद्ध ९० रन र फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध ६९ रन बनाएका थिए । उनी पहिलो संस्करणको ‘प्लेयर अफ द टुर्नामेन्ट’ नै बनेका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले बिराटनगर किंग्सविरुद्ध ५७, ब्रान्डन म्याकमुलेनले काठमाडौं गोरखासविरुद्ध ५३ र बिनोद भण्डारीले क्वालिफायरमा ५८ रन बनाएका थिए ।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका लागि स्कट कुगेलेनले १७ विकेट लिएर टोलीका लागि सबैभन्दा धेरै विकेटकर्ता बने । उनले पोखरा एभेन्जर्सविरुद्ध १८ रन दिँदै ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै नरेन साउदले काठमाडौं गोरखाविरुद्ध १९ रन दिएर ५ विकेट लिएका थिए । हर्मित सिंहले कर्णाली याक्स र र अविनाश बोहोराले बिराटनगरविरुद्ध १७ रन दिएर ३ विकेट लिएका थिए ।

आफ्नो एन्थम “सुदुर को शान, मैदान मा तुफान” भने जस्तै सुदूरपश्चिमले यसपटक मैदान मा तुफान नै देखाउने ल्याकत र खेलाडी पनि भित्र्याइसकेकाले अन्य टोलीहरुलाई निकै चुनौती हुने पक्का छ । तर त्यसका लागि सुदुरपश्चिमले आफ्ना विपक्षी टोलीहरुको कमजोरीलाई पहिल्यै नै आँकेर बिष्फोटक प्रदर्शन गर्नु बाहेक अन्य विकल्प हुने छैन ।

Logo