काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा फ्लडलाइट बाल्न नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिघण्टा ४३ हजार रुपैयाँ खर्चिने भएको छ ।
एनपीएलको दोस्रो सिजनका लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा फ्लडलाइट बाल्न मात्र ७५० केभीको दुई वटा जेनेरेटर सञ्चालन गरिने भएपछि उक्त मूल्य बराबरको खर्च क्यानले प्रतिघण्टा खर्चिन लागेको हो । विद्युत् प्राधिकरणको लाइन छुट्टै तानेर ट्रान्सफर्मर समेत छुट्टै राख्नुपर्ने हुँदा अहिले नभ्याएर जेनेरेटरमार्फत लाइट बाल्न लागिएको बताइएकाे छ ।
७५० केभीको दुई वटा जेनेरेटरले प्रतिघण्टा ३०० लिटर डिजेल खपत गर्ने भएकाले यी जेनेरेटरहरूले आयोजक क्यानलाई प्रतिघण्टा ४३ हजार २०० रूपैयाँको आर्थिक बोझ थोपर्ने भएको छ । नेपाल आयल निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा रहेको छ, जसले जेनेरेटर चलाउन मात्र प्रतिघण्टा ४३ हजार २०० रूपैयाँ खर्च हुने देखिन्छ ।
प्रत्येक पोलमा १६०० वाटको एक सहित ७० वटा बत्ती जडान गरिएका छन्, जसले कुल ४२० लाइटहरूबाट मैदानलाई उज्यालो पार्नेछ ।
यो रकम क्यान स्वयंमले व्यहोर्नेछ । अर्कोतर्फ क्यानले एनपीएलका दौरान पूर्ण रूपमा ६ वटै फ्लडलाइट चलाउँदा ६ मेगावाट बिजुली खपत हुन्छ, जुन एउटा सानो सहरको विजुली खपत बराबर हो ।
दोस्रो संस्करणको एनपीएल सोमबार मंसिर १ गतेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा गत सिजनका विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको भिडन्त हुनेछ । यस पटक खेलिने ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने क्यानको खेल तालिका गत साता नै सार्वजनिक भइसकेको छ ।





























प्रतिक्रिया