काठमाडाैं । जर्मनी फिफा विश्वकप २०२६ को लागि छनोट भएकाे छ ।
समूह ‘ए’ को अन्तिम तथा निर्णायक खेलमा जर्मनीले स्लोभाकियामाथि ६-० को सानदार जित हासिल गर्दै आगामी विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको हाे ।
खेल सुरु हुनुअघि दुवै टोली १२-१२ अंकका साथ समूहको शीर्ष स्थानमा थिए। जर्मनीलाई सिधै विश्वकपमा पुग्न बराबरी वा जित आवश्यक थियो भने स्लोभाकियालाई जित्नै पर्ने दबाब थियो । तर, जर्मन टोलीले सुरुदेखि नै आक्रामक र निर्णायक खेल प्रदर्शन गर्दै स्लोभाकियालाई कुनै मौका दिएन।
खेलकाे १८ औँ मिनेटमा निक वोल्टेमाडेले जोसुआ किम्मिचको क्रसमा सुन्दर हेडिङ गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। यो उनको पछिल्लो तीन अन्तर्राष्ट्रिय खेलमा चौथो गोल हो।
त्यस्तै, २९ औँ मिनेटमा लियोन गोरेट्काको पासमा सर्ज ग्नाब्रीले गोलकिपर मार्टिन डुब्राभकालाई सहजै पराजित गर्दै अग्रता दोब्बर पारे। ३६ औँ मिनेटमा फ्लोरियान विर्ट्जको पासमा लिरोय सानेले गोल गर्दै जर्मनीलाई ३-० को बलियो स्थितिमा पुर्याए।
४१ औँ मिनेटमा सानेले फेरि विर्ट्जकै पासमा उत्कृष्ट भली प्रहार गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि पहिलो हाफ ४-० मा टुङ्गियो।
६७ औँ मिनेटमा सब्सटिच्युट खेलाडी रिडले बाकुले ग्नाब्रीको पासमा खाली पोस्टमा गोल गर्दै स्कोर ५-० बनाए। साथै ७९ औँ मिनेटमा अर्का डेब्युटान्ट सब्सटिच्युट अस्सान औएद्रागोले उत्कृष्ट टिमवर्कपछि सानेको पासमा सानदार लो-सट प्रहार गर्दै जर्मनीको छैटौँ तथा अन्तिम गोल गरे।
यस जितसँगै जर्मनी समूह ‘ए’ को विजेता बनेको छ भने उपविजेता बनेको स्लोभाकियाले अब विश्वकपमा पुग्नका लागि प्ले-अफ खेल्ने मौका पाएको छ।































प्रतिक्रिया