एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

केन्द्रबिन्दु
15
Shares

कीर्तिपुर। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपिएल सुरक्षाको नेतृत्व गरी रहनुभएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए ।

त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको केन्द्रविन्दुलाई बताए । रङ्गशाला परिसरमा नया संरचनाहरू तयार भएको र नेपालीहरुमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ । “यसपटक एकैतर्फ तीनवटा सम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,” उनले भने।

रङ्गशालामा ४२ वटा सिसिटिभी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी गरिएको छ । यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ । खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरु गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पु¥याइएको छ । यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ ।

एनपिएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरु र कुकुरको समेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिए। रङ्गशालाको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरु हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ ।

खेलाडीको निवास र रङ्गशालासम्म उनीहरुको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताए।

Logo