काठमाडौं । साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्धले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले स्तब्ध पारेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौं १६.५ ओभरमा अलआउट हुँदै ११८ रनमै समेटियो । आकाश त्रिपाठीले टोलीलाई बलियो सुरुवात दिँदै ३० बलमा सर्वाधिक ३४ रन बनाए।विकटकिपर जोन सिम्पसनले आक्रामक ब्याटिङ गर्दै १८ बलमा २ चौका र १ छक्कासहित २४ रनको महत्वपूर्ण योगदान दिए। काठमाडौंका लागि भीम शार्कीले पनि १० बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडे। बलियो सुरुवात गरेपनि अन्तिमममा काठमाडौं चुक्यो। लगातार विकेट गुमाउँदै जित पनि हातबाट फुस्कियो ।
सुदुरका बलर हरमित सिंह, हेमन्त धामी र स्कट कुगेलेइनले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन जोडेको थियो । सुदूरपश्चिमको पारीलाई उकास्नका लागि भारतीय मुलका अमेरिकी खेलाडी हरमित सिंहले उत्कृष्ट र आक्रामक प्रदर्शन गरे। उनले मात्र २० बल खेल्दै २ चौका र ६ छक्काको मद्दतले ५३ रनको विस्फोटक अर्धशतकीय पारी खेले।
यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३९ रनको योगदान दिए भने आरिफ शेखले २५ रन बनाए।
ओपनर जोस ब्राउन र विनोद भण्डारी पहिलो ओभरमै शून्य रनमा आउट हुँदा सुदूरपश्चिमको सुरुवात निकै निराशाजनक रह्यो। एक समय ५२ रनमा ५ विकेट गुमाएको टोलीलाई कप्तान ऐरी र हरमित सिंहले सम्हालेका थिए।
काठमाडौं गोर्खाजका बलरहरूले पनि कसिलो प्रदर्शन गरे। काठमाडौंका कप्तान तथा तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर महत्वपूर्ण ४ विकेट हात पारेका थिए ।































प्रतिक्रिया