एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनी लायन्सको जितमा कप्तान रोहित पौडेल र अलराउन्डर गुल्बादिन नायबको जोडी निर्णायक बन्यो। पौडेलले ३९ रनको संयमित इनिङ्स खेले। उनले ४४ बलको सामना गरे र टोलीलाई जितको आधार प्रदान गरे। यता नायबले अत्यन्तै आक्रामक शैलीमा ब्याटिङ गर्दै मात्र २४ बलमा ३ चौका र ३ छक्काको मद्दतले नट आउट ४४ रन प्रहार गरे।

ओपनर सन्दीप जोराले २८ रन बनाए भने डी आर्सी सर्ट ११ रनमा आउट भए।

चितवन राइनोजका बलरहरु लक्ष्य रक्षा गर्न असफल रहे। रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा मात्र १७ रन खर्चेर २ विकेट लिए। तर, अन्य बलरहरुले रन नियन्त्रण गर्न सकेनन्।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन जोडेको थियाे । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन को योगदान दिए। उनले ५५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे।

चितवनको सुरुवात कमजोर रह्यो । ओपनर दीपक बोहरा १० रन र डेभिड मलान शून्यै आउट भएपछि मध्यक्रममा देव खनाल १४ रन र कप्तान कुशल मल्लले २१ रनले रवि बोपारालाई साथ दिए। कुशल मल्लसँग बोपाराको साझेदारी नै इनिङ्सको मुख्य आधार बन्यो। सैफ जैबले १५ रन जोडे।

लुम्बिनी लायन्सको तर्फबाट बलर रुबेन ट्रम्पेलम्यानले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २३ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएर चितवनको रन गतिलाई नियन्त्रणमा राखेका थिए। उनीबाहेक गुल्बादिन नायब र अभिशेष गौतमले २-२ विकेट लिए।

Logo