को हुन् जारी एनपीएलमा दोस्रो शतक हान्ने एडम रोसिङ्टन ?

को हुन् जारी एनपीएलमा दोस्रो शतक हान्ने एडम रोसिङ्टन ?


काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समा आबद्ध एडम रोसिङ्टनले सानदार शतक प्रहार गरेका छन् । एनपीएलअन्तर्गत आज मंगलबार भएको २१औं खेलमा ५५ बलको सामना गर्दै एडमले ११ चौका र ६ छक्कासहित यो शानदार शतक पूरा गरेका हुन् । नेपालमा पहिलो पटक खेलिरहेका ३२ वर्षीय रोसिङ्गटन दोस्रो संस्करणमा शतक प्रहार गर्ने दोस्रा खेलाडी हुन् ।

यसअघि कर्णालीकै खेलाडी मार्क वाटले जारी प्रतियोगितामा शतक हिर्काएका थिए । लुम्बिनी लायन्सविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरेका थिए । उनी एनपीएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर पनि हुन् ।

एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन्। प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए। यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए।

को हुन् त एडम रोसिङ्गटन ?

एडम म्याथ्यू रोसिङ्गटनको जन्म सन् १९९३ को मे ५ का दिन इङ्ल्यान्डको मिडलसेक्सस्थित एजवेयरमा भएको थियो । क्रिकेटप्रति रुचि राख्ने परिवारमा हुर्किएका उनी बाल्यकालदेखि नै क्रिकेटमै सक्रिय रहँदै आएका थिए । लन्डनको प्रतिष्ठित शैक्षिक संस्थान मिल हिल स्कूलमा पढ्ताकै उनको प्रतिभा देखिन थालेको थियो ।

सन् २००९ मा मिडलसेक्सको सेकेन्ड एक्सआईका लागि खेल्दै उनले पहिलो इनिङ्समै १६१ रनको विस्फोटक शतक प्रहार गरेका थिए । यो प्रदर्शनले उनलाई काउन्टी क्रिकेटको ढोका खोलिदिएको थियो । सन् २०१० मा मिडलसेक्सबाट फस्र्ट–क्लास क्रिकेटमा डेब्यू गरेका उनले पर्याप्त अवसर नपाएपछि सन् २०१४ मा नर्थ ह्याम्पटनसायरमा लोनमा गएका थिए । सोही वर्ष उनले स्थायी अनुबन्धमा साइन गरे र आठ सिजनसम्म टिमको मुख्य आधार बनेर खेले । नर्थ ह्याम्पटनसायरका लागि उनले फस्र्ट–क्लासमा मजबुत प्रदर्शन गरे, जसमा सन् २०१४ को च्याम्पियनसिप डिभिजन वानबाट रेलिगेसनको कठिन समयमा पनि ४६५ रन बनाएका छन् ।

सन् २०१६ मा त झन उनले नर्थ ह्याम्पटनसायरका लागि नेट वेस्ट टी–२० ब्लास्ट उपाधि नै जिते । त्यस्तै सन् २०२२ मा एसेक्समा लोनमा गएर स्थायी अनुबन्ध भएका रोसिङ्गटनले सन् २०२५ सम्म टिमको कप्तानी गरेका थिए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी फस्र्ट–क्लास खेल र सयौं टी–२० खेल खेलेका छन् ।

रोसिङ्गटनको करियरको सबैभन्दा रोचक पक्ष भनेको विभिन्न अन्तर्राष्ट्रिय टी–२० लिगहरूमा उनको सहभागिता हुनु हो । सन् २०२३ मा पाकिस्तान सुपर लिग (पीएसएल) मा कराची किङ्सबाट छोटो समय खेल्दै राम्रो प्रदर्शन गरेपछि सन् २०२४ मा उनी लाहोर क्वालान्डर्ससँग जोडिएका थिए । त्यस्तै, दक्षिण अफ्रिकाको एसए–२० मा सन् २०२३ मा सनराइजर्स इस्टर्न केपबाट खेल्दै उनले पहिलो संस्करणमै टोलीलाई उपाधि जिताएका थिए, जसमा उनी एक्लैले ५७ रन पनि बनाएका थिए ।

त्यस्तै सन् २०२१ देखि २४ सम्म इङ्ल्यान्डको द हन्ड्रेड लिगमा उनले लन्डन स्पिरिटका लागि खेले । द हन्ड्रेडमा उनले २५ खेलमा ४७१ रन बनाए, जसमा ३ अर्धशतक पनि सामेल छन् । यसबाहेक, भाइटालिटी टी–२० ब्लास्ट, १०० बल क्रिकेट र अन्य फ्रेन्चाइज लिगहरूमा उनको बलियो उपस्थिति रहदै आएको छ ।

अझ १०० बल क्रिकेटमा त झन उनले १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका छन् । टी–२० मा एडम रोसिटोनले ३ हजारभन्दा बढी रन बनाएका छन् र विकेटकीपरको रूपमा १०० भन्दा बढी विकेट पनि लिएका छन् ।

Logo