काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उपाधिको दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । सुदूरपश्चिम छ खेल जित्ने एकमात्र टोली हाे ।
सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँ नयाँ खेलाडी ‘म्याच विनर’ बनेका छन् । लिग चरणको पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराएको खेलमा अलराउण्ड प्रदर्शन गरेका विदेशी खेलाडी प्लेयर अफ द म्याच भएका थिए । उनले ५३ रन जोडे भने बलिङमा दुई विकेट हात पारेका थिए ।
पोखरा एभेञ्जर्सविरुद्धको दोस्रो खेलमा सुदूरपश्चिमले १८ रनको जीत निकालेको थियो । जसमा ६८ रनको योगदान गरेको टिमलाई जिताएका विदेशी खेलाडी जोस ब्राउन प्लेयर अफ द म्याच चुनिएका थिए ।
तेस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको थियो । जसमा कप्तान ऐरीले अलराउण्ड प्रदर्शन गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । ब्याटिङतर्फ ३९ र बलिङतर्फ चार विकेट हात पारेसँगै उनले प्लेयर अफ द म्याचको अवार्ड जिते ।
लगातार चौथो जीत दर्ता गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जीत हासिल गर्यो । जसमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । विकेट किपरसमेत रहेका भण्डारीले विपक्षी टिमका तीन खेलाडीलाई क्याचआउट समेत गराए । उनी उक्त दिनका प्लेयर अफ द म्याच भए ।
सुदूरपश्चिमले पाचौँ खेलमा जनकपुरलाई छ विकेटले हरायो । पहिलो संस्करणको फाइनलमा हारेको सुदूरपश्चिमले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको हो । सुदूरपश्चिमका तर्फबाट इशान पाण्डेले म्याच विनर पारी खेल्दै ५९ रन जोडे । अन्तमा उनलाई नै प्लेयर अफ द म्याचको पुरस्कारसमेत दिइयो ।
छैटौँ खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले स्तब्ध पार्यो । यो खेलमा ७५ रन बनाएका विदशी खेलाडी क्रिस लेन प्लेयर अफ द म्याच भए । लिग चरणको सातौँ तथा अन्तिम खेलमा भने विरानगरसँग छ विकेटले हारेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ ।
यता सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर लिग चरणका पाँच खेल जितेर पहिलो क्वालिफायरमा पुगेकाे छ । गत वर्ष प्लेअफमा पुग्न नसकेको विराटनगरले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । योसँगै उसले ट्रफी जित्ने योजना बनाएको छ ।
लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौँ खेलमा पराजित भएको थियो । पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगरले पनि बलियो दाबेदारी पेस गरेको छ ।
पहिलो खेलमा पोखरालाई ५३ रनले हराएपछि लोकेश बमको चर्चा चुलियो । व्यक्तिगत ७२ रन जोडेका लोकेश प्लेयर अफ द म्याचसमेत चुनिए । काठमाडौँमाथि पाँच विकेटको जीत निकालेको दोस्रो खेलमा मर्चेन्ट डे लाङ्गेले उत्कृष्ट खेल्दै महत्त्वपूर्ण दुई विकेट हात पारेपछि उनी प्लेयर अफ द म्याच भए ।
तेस्रो खेलमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच भए । जनकपुरविरुद्धको उक्त खेलमा सन्दीपले चार विकेट हात पार्दा टिमले नौ रनको जित दर्ता गरेको थियो । विराटनगर चौथो खेलमा चितवनसँग ४८ रनले र छैटौँ खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो ।
पाँचौँमा कर्णाली याक्सलाई ती विकेटले हराएको खेलमा बसिर अहमदले ६२ रन पारी खेल्दै म्यान अफ द म्याच चुनिए । सातौँ खेलमा सुदूरपश्चिममाथि छ विकेटको जीत दर्ता गरेको विराटनगरका फाफ डु प्लेसिस प्लेयर अफ द म्याच घोषित भएका हुन् ।
आज जित्ने टोली सिधैं फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।































प्रतिक्रिया