काठमाडौं । लुम्बिनी लायन्स जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा बिरानगर किंग्सलाई स्तब्ध पार्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार भिड्नेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
लुम्बिनीले दिएको १३५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आज बिराटनगर १७.५ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो । विदेशी तथा अनुभवी खेलाडीहरूले भरिएको विराटनगरको ब्याटिङ लाइनअप यस खेलमा पूर्ण रूपमा असफल रह्यो। सुरुवाती ओभरहरूदेखि नै विकेट गुमाएको टोलीले ठूलो साझेदारी गर्न सकेन।
विराटनगरको लागि सर्वाधिक रन अष्ट्रेलियन ब्याटर साम हेजलेटले बनाए। उनले २८ बलमा २ चौका र २ छक्कासहित ३४ रनको योगदान दिए। यस्तै, तल्लो क्रमका ब्याटर नरेन भट्टले २१ बलमा २१ रन बनाए भने मार्चेन्ट डे लाङ्गेले २० बलमा १७ रनको महत्त्वपूर्ण पारी खेले।
तर, टोलीका प्रमुख खेलाडीहरूले खासै योगदान दिन सकेनन् । मार्टिन गुप्टिल ३ बलमा २ रन, फाफ डु प्लेसिस ४ बलमा ३ रनमा आउट भए । विराटनगर किङ्सको लगातार विकेट पतनका कारण टोलीले ५० रनभन्दा कम स्कोरमै महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो।
विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीका बलरहरू सफल रहे। तिलक भण्डारीले ३ विकेट लिए भने अभिषेक गाैतम र जेजे स्मिथ र रुबेनले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३४ रन बनाएकाे थियाे । लुम्बिनीका ओपनर डार्सी सर्ट र कप्तान रोहित पौडेलले राम्रो साझेदारी गर्दै ६ ओभरको पावरप्लेमा ४४ रन जोडेका थिए । सर्टले ४१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए। उनलाई मध्यक्रमका ब्याटर निरोशन डिक्वेला ले २२ बलमा ४ चौकासहित २९ रन को योगदान दिए।
मध्यक्रम भने धर्मरायो । ८ रनमा पहिलो विकेट गुमाएको लुम्बिनीले दोस्रो विकेटका लागि ७७ रनसम्मको साझेदारी बनाएको थियो। तर, कप्तान रोहित पौडेल ३० बलमा ३४ रन बनाएर आउट भएपछि स्कोर ९० रन पुग्दा सर्ट पनि पभेलियन फर्के। त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो र २९ रन जोड्न ६ विकेट गुमाउन पुग्यो।
यता विराटनगरका स्पिनर सुवास भण्डारीले ४ ओभरमा मात्र १४ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । यसैगरी कप्तान सन्दीप लामिछाने र प्रतिश जीसीले समान २ विकेट लिए ।





























प्रतिक्रिया