काठमाडौं । टी–२० विश्वकपअघि नेपाली पुरुष टोलीले श्रीलंका ‘ए’ र भारतको एमसीए प्रेसिडेन्ट–११ सँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप–२०२६ नजिकिँदै गर्दा श्रीलंका ‘ए’ र एमसीए प्रेसिडेन्ट–११ सँग खेलिने अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो ।
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ ।
क्यानका अनुसार नेपाली पुरुष क्रिकेट टोलीले जनवरीमा दुई देशको भ्रमण गर्दै विश्वकपको अन्तिम तयारी गर्नेछ । पहिलो चरणमा टोली श्रीलंका प्रस्थान गर्नेछ, जहाँ श्रीलंका ‘ए’ टोलीसँग नेपालले तीनवटा टी–२० अभ्यास खेल खेलिनेछ । यी खेलहरू माघ ६, ८ र १० गतेका लागि निर्धारित छन् ।
त्यस्तै, श्रीलंकामा रहँदा टोलीले माघ ५, ७ र ९ गते नेटमा अभ्यास पनि गर्नेछ । श्रीलंकापछि टोली भारतको मुम्बई आइपुग्नेछ । जहाँ मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) को प्रेसिडेन्ट–११ सँग दोस्रो चरणको अभ्यास खेल खेल्नेछ । माघ १४ गते का दिन दिनको खेल र जनवरी माघ १७ गतेका दिन रातको खेल सीसीआई वा वानखेडे मैदानमा खेल्ने सम्भावना छ । त्यसैगरी माघ १३ र १४ गते भारतमा नेपालले थप अभ्यास खेलहरु खेल्नेछ ।
रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा अनुभवी र युवा खेलाडीको उत्कृष्ट मिश्रण रहेको छ । टोलीमा परेका आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्दैछन् । शेर मल्लका लागि यो सिनियर राष्ट्रिय टोली डेब्यूको अवसर पनि हुन सक्छ ।
लगातार दोस्रो विश्वकप खेल्ने ९ खेलाडी रोहित, आसिफ, कुशल, दीपेन्द्र, गुल्शन, ललित, करण, सन्दीप जोरा र सन्दीप लामिछानेले टोलीलाई स्थिरता दिने आशा गरिएको छ । सोमपाल कामीले भने लगातार तेस्रो विश्वकप खेल्ने कीर्तिमान बनाउने भएका छन् । उनी सन् २०१४ देखि निरन्तर टोलीमा अटाउने एकमात्र नेपाली खेलाडी हुन् ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा छ, जसमा विश्व विजेता इंग्ल्यान्ड, वेस्ट इन्डिज छन् भने बंगलादेश र इटाली पनि यहि टोलीमा रहेको छ । नेपालका सबै चार वटै खेल मुम्बईमा हुनेछन् । नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इंग्ल्यान्डविरुद्ध, माघ २९ गते इटालीविरुद्ध फागुन ३ गते वेस्ट इन्डिजविरुद्ध र फागुन ५ गते बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालका लागि इंग्ल्यान्ड र वेस्ट इन्डिजजस्ता बलिया टोलीसँगको खेल कडा हुनेछ भने इटाली र बंगलादेशविरुद्ध अंक जोड्ने राम्रो अवसर पनि हुनेछ ।
टी–२० विश्वकप नेपालका लागि एक प्रतियोगिता मात्र नभएर राष्ट्रिय गौरवको प्रतिनिधित्व पनि हो। यस्तोमा श्रीलंका र भारतको तयारीले नेपाली टोलीलाई तिखार्ने विश्वास गरिएको छ। यदि सबै कुरा योजना अनुसार नै भयो भने, नेपाली क्रिकेट टोलीले विश्व मञ्चमा आफ्नो गहिरो छाप छोड्न सक्छ।































प्रतिक्रिया