काठमाडौं । आगामी फेब्रुअरी ७ बाट सुरु हुन लागेको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अगाडि बंगलादेशको सहभागितालाई लिएर ठूलो अन्योल उत्पन्न भएको छ। सुरक्षाको कारण देखाउँदै भारतमा हुने आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको बंगलादेशलाई आईसीसीले अन्तिम चेतावनी दिएको छ।
आईसीसी बोर्डको बैठकमा बंगलादेशको मागलाई १४–२ को भारी मतले अस्वीकार गर्दै बंगलादेशलाई स्पष्ट रूपमा भनेको छ— कि त भारतमा तोकिएका खेलहरू खेल्नुपर्छ, अन्यथा बंगलादेशको स्थानमा अर्को टोलीलाई समावेश गरिनेछ। बंगलादेशलाई आफ्नो अन्तिम निर्णय सुनाउन एक दिनको समय दिइएको छ।
यदि बंगलादेशले भारत भ्रमण नगर्ने अडान कायम राखेमा, छनोट हुन नसकेका टोलीहरूमध्ये शीर्ष वरीयतामा रहेको स्कटल्याण्डले समूह ‘सी’ मा बंगलादेशको ठाउँ लिन सक्नेछ।
बंगलादेश समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, इङ्गल्याण्ड र इटालीसँगै रहेको छ। यदि बंगलादेश बाहिरिएमा नेपालले स्कटल्याण्डसँग खेल्नुपर्ने हुन सक्छ।
यसै विवादका बीच बंगलादेश क्रिकेट बोर्डका निर्देशक एवं वित्त समिति अध्यक्ष एम नजमुल इस्लामलाई पदबाट बर्खास्त गरिएको छ। नजमुलले राष्ट्रिय टोलीका खेलाडीहरूको मूल्य र क्षमतामाथि अपमानजनक टिप्पणी गरेपछि खेलाडीहरूले बंगलादेश प्रिमियर लिग (बीपीएल) बहिष्कार गर्ने चेतावनी दिएका थिए। खेलाडीहरूको चर्को दबाबपछि बोर्डले उनलाई हटाएको हो।





























प्रतिक्रिया