बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

केन्द्रबिन्दु
42
Shares

धरान। बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवद्र्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

धरानलाई खेलकुदको सहरको रूपमा चिनाउन बुढासुब्बा गोल्डकपले महत्त्वपूर्ण योगदान पु¥याएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए। “धरानलाई खेलकुदको सहर भनेर चिनाउन बुढासुब्बा गोल्डकपले ठूलो योगदान पु¥याएको छ, यसको वर्णन गरेर सकिँदैन,” तामाङले भने, “नेपालका प्रतिष्ठित क्लबहरूसँगै अन्तरराष्ट्रिय टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।”

विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएको थियो। यस वर्ष भने १० टिमको सहभागिता रहनेछ। “यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिता सुरु हुँदैछ,” तामाङले भने।

कोरोना महामारीका कारण दुई वर्ष प्रतियोगिता आयोजना हुन नसके पनि त्यसपछि भने निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। बुढासुब्बा गोल्डकप धरानका लागि पहिचानजस्तै बनेको छ। प्रतियोगिता सञ्चालनमा आर्थिक पक्ष महत्त्वपूर्ण हुने भएकाले प्रत्येक वर्ष प्रतियोगिताको स्तर वृद्धि गर्न आयोजक गम्भीर रूपमा लागिरहेको अध्यक्ष तामाङले बताए।

यस वर्ष धरान उपमहानगरपालिकाले पहिलो र दोस्रो पुरस्कारको रकम सहयोग गर्ने भएपछि प्रतियोगिता सञ्चालन सहज भएको जनाइएको छ। फुटबलप्रेमीहरूको मागअनुसार यस वर्ष टिम सङ्ख्या आठबाट बढाएर १० पु¥याइएको छ। यस वर्षको बुढासुब्बा गोल्डकपले दर्शकलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

कोशी पहाडको प्रवेशद्वारका रूपमा परिचित धरान सौखिन, ‘फेसनेबल’ र लाहुरेको सहरका रूपमा चिनिन्छ। पछिल्लो समय भने धरान खेलकुदप्रेमीहरूको सहरका रूपमा समेत परिचित हुँदै गएको छ। यसमा बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्त्वपूर्ण रहेको खेलप्रेमीहरूको भनाइ छ।

बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा फुटबलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। अन्य खेलहरूको पनि आ–आफ्नै महत्त्व भए पनि बुढासुब्बा गोल्डकप नेपालकै पुरानो तथा सम्मानित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ। प्रतियोगिताले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा धरानलाई चिनाउन योगदान पु¥याएको छ।

बुढासुब्बा गोल्डकपले धरानलाई मात्र नभई यहाँका खेलाडीहरूलाई पनि चिनाएको अध्यक्ष तामाङले बताए। “आज नेपालका ‘ए’ डिभिजन क्लबहरूमा धरानका खेलाडीले प्राथमिकता पाएका छन्। सयौँ युवाले फुटबललाई भविष्य बनाएका छन्,” उनले भने।

हाल धरानका विभिन्न फुटबल एकेडेमीहरूमा सयौँ युवा प्रशिक्षणरत छन्। राष्ट्रिय खेलाडी बन्ने सपना बोकेर उनीहरू फुटबलकै माध्यमबाट देश चिनाउने लक्ष्यसहित अभ्यासमा जुटिरहेका छन्।

राष्ट्रिय खेलाडी बन्ने सपना बोकेका सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल छ वर्षको उमेरदेखि नै फुटबलप्रति आकर्षित हुँदै आएको बताउँछन्। बुढासुब्बा गोल्डकप खेल्ने सपना बोकेका भुजेल हाल धरान एन्फा एकेडेमीमा नियमित अभ्यासरत छन्। “गाउँमा गल्लीहरूमा फालिएका मोजामा कपडा खाँदेर बनाइएको बल खेल्थ्यौँ,” उनले भने, “कहिलेकाहीँ बारीमा फलेका भोगटे टिपेर पनि साथीसँग फुटबल खेल्थ्यौँ। राष्ट्रिय फुटबल खेलाडी बन्ने ठूलो लक्ष्य छ।”

प्रकृति सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण धरानलाई खेलकुदको थप पहिचान दिलाउन बुढासुब्बा गोल्डकपले सहयोग गर्दै आएको छ। धरान उपमहानगरपालिका–१५ का सागर घिमिरेले सानै उमेरदेखि फुटबल खेल्न सुरु गरेका थिए। चार वर्षको उमेरदेखि फुटबल खेलेका घिमिरे हाल बुढासुब्बा गोल्डकपमा कोचको भूमिकामा पनि सक्रिय छन्।

घिमिरेले बुढासुब्बा गोल्डकपमा २३ पटक कोचको भूमिका निर्वाह गरिसकेका छन्। “लाहुरे बन्ने सपना पनि थियो, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न थालेपछि त्यो सपना त्यागे,” उनले भने। ताइवान, भुटान, चीनलगायत देशमा फुटबल लिग खेलिसकेका घिमिरे आफ्नो सफलताको श्रेय बुढासुब्बा गोल्डकपलाई दिन्छन्।

उनका अनुसार अहिले युवाहरू केवल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल सेट गरिरहेका छन्। फुटबल खेल मात्र नभई धेरैका लागि सपना बनेको छ, जुन गल्लीबाट सुरु भएर एकेडेमीमा आकार लिन्छ।

खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ, प्रसिद्धि तथा विभिन्न अवसर प्रदान गर्ने भएकाले फुटबललाई पेशाका रूपमा अपनाउन सकिने अवस्था बनेको छ। यही कारणले पछिल्लो पुस्ताका युवा खेलकुद, विशेषगरी फुटबलतर्फ आकर्षित हुँदै गएको आयोजक धरान फुटबल क्लबका महासचिव नवीन राईले बताए। फुटबलले शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

महासचिव राईका अनुसार बुढासुब्बा गोल्डकप ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको प्रतियोगिता हो। यस प्रतियोगिताको नाम धरानको ऐतिहासिक तथा धार्मिक स्थल बुढासुब्बा मन्दिरसँग जोडिएको छ। “बुढासुब्बा गोल्डकपले धरानलाई खेलकुदको सहरसँगै पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ठूलो योगदान दिएको छ,” उनले भने।

“अहिले बुढासुब्बा गोल्डकप धरानको एउटा सानका रूपमा उभिएको छ,” उनले थपे। प्रतियोगिताले खेलकुद विकाससँगै युवा खेलाडीलाई आवश्यक प्लेटफर्म प्रदान गर्नुका साथै राष्ट्रिय फुटबलको स्तर सुधारमा पनि योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ।

प्रत्येक वर्ष बुढासुब्बा गोल्डकप सञ्चालन गर्न करिब रु एक करोड बराबरको लगानी लाग्ने गर्दछ। जसमध्ये केही रकम स्थानीय सरकारबाट सहयोग प्राप्त हुन्छ भने बाँकी हङकङ, बेलायत, सिङ्गापुरलगायत देशमा रहेका सहयोगी व्यक्तिहरूको सहयोगबाट जुटाइनेछ। बुढासुब्बा गोल्डकप हेर्न सुनसरीसहित मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायत जिल्लाबाट समेत दर्शकहरू धरान आउने गरेका छन्।

Skip This
Skip This
Logo