स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण

स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण

केन्द्रबिन्दु
9
Shares

बेनी। बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ। वडा कार्यालय, समुदाय र प्रवासमा रहेका स्थानीयवासीको २० लाख रुपैयाँभन्दा बढी लगानीमा कभर्डहल निर्माण गरिएको हो।

कभर्डहलको शनिबार उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले पछिल्लो समय लोकप्रिय खेलका रूपमा विकास हुँदै गएको ब्याडमिन्टन खेलको अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि कभर्डहलले सहयोग पुग्ने बताए। उनले सरकारी बजेटमा करिब दोब्बर सहयोग र श्रमदान जुटाएर खेलकुद पूर्वाधार निर्माण गरी स्थानीयवासीले उदाहरणीय काम गरेको बताए।

आर्थिक वर्ष २०७९÷८० देखि निर्माण सुरु भएको कभर्डहल पूर्ण भएपछि ब्याडमिन्टन खेलाडी उत्साहित बनेका छन्। कभर्डहल निर्माणका लागि दुई वर्षमा वडा कार्यालयबाट सात लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यस्तै, स्थानीयवासीले देउसीभैलोबाट दुई लाख रुपैयाँ तथा प्रवासमा रहेका स्थानीयवासीबाट ११ लाख ६२ हजार रुपैयाँ संकलन गरिएको कभर्डहल निर्माण अभियानका संयोजक सुमन गुरुङले बताए।

करिब १५० जना दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी कभर्डहलको पूर्वाधार निर्माण गरिएको छ। वडाभित्रका हरेक बस्तीमा खेलमैदान तथा खेलपूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत वडा र समुदायको साझेदारीमा कभर्डहल निर्माण गरिएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए। उनका अनुसार डामडाँडा, सिङ्गा र तातोपानी गरी तीन स्थानमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ। ती पूर्वाधार निर्माणका लागि वडामार्फत ३३ लाख रुपैयाँ खर्च गरिएको छ भने समुदायले थप आर्थिक सहयोग र श्रमदान जुटाएको छ ।

कभर्डहल उद्घाटन समारोहमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा सदस्य सन्दीप खत्री, नेकपाका तेजबहादुर बानियाँ, नेपाली कांग्रेसका सुमन बानियाँ, नेकपा एमालेका तुलप्रसाद श्रेष्ठ तथा बालमखोला सिँचाइ उपभोक्ता समितिका अध्यक्ष भीम गुरुङलगायतले मन्तव्य राखे।

Skip This
Skip This
Logo