काठमाडौं । आईसिसी टि–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध अन्तिम ओभरमा निर्णायक ब्याटिङ गर्न नसक्दा ४ रनले चुकेको नेपाली टोलीले अघिल्लो संस्करणमा दक्षिण अफ्रिकाविरुद्धको १ रनको हारलाई सम्झाएको छ ।
इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ६ विकेटको क्षतिमा १८० रनमै रोकिएको नेपाली टोलीले ९० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेता पनि १० प्रतिशत दबाबलाई झेल्न नसक्दा चुकेको थियो । हुनत गएराती सम्पन्न भएको यो खेल भाग्यको मात्र खेल थिएन; यसमा नेपालको रणनीतिक कमजोरी, दबाब व्यवस्थापन र अनुभवहीनताका स्पष्ट छापहरू पनि देखिएका थिए ।

यस लेखमा हामी प्रत्यक्ष खेलको अनुभव, विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुको विश्लेषण तथा खेलाडीहरूले पोस्ट–म्याच दिएका प्रतिक्रियाहरूका आधारमा इङ्ल्याण्डविरुद्धको खेलमा नेपाल हार व्यहोर्नुका ५ प्रमुख कारणहरूका बारेमा बताउने छौं ।
१. डेथ ओभर बलिङको असफलताः नेपालको हारको सबैभन्दा ठूलो दोषी बलिङ इकाईको डेथ ओभर म्यानेजमेन्ट थियो । इङ्ल्यान्डलाई १७० भन्दा तल रोक्न सक्ने अवस्थामा पुगिसकेको नेपालले अन्तिम ओभरमा २२ रन दिएपछि इङ्ल्यान्डले नेपाललाई १८४ रनको विजयी लक्ष्य दिएको थियो । जुन नेपाली टोलीका लागि हारको निर्णायक कारक नै बनेको थियो । अन्तिम ओभरको जिम्मा पाएका करण केसीले वाइड, फुल टस र छोटा बलहरू फ्याँक्दै विल ज्याक्सलाई तीन छक्का प्रहार गर्ने मौका दिए । केसीको फ्याकेका बलको औसत गति १२० किमी/घण्टा मात्र थियो, जसले इङ्लिस ब्याटरहरूलाई सहजै हावी बन्न मौका दिएको थियो ।

त्यति मात्र होइन मिडल ओभरहरूमा पनि नेपालले विकेट निकाल्न सकेन । शेर मल्ल र नन्दन यादवले सुरुवाती विकेट लिएपछि इङ्ल्यान्ड ५७÷३ मा थियो, तर ज्याकोब बेथेल र ह्यारी ब्रुकले ७१ रनको साझेदारी बनाउँदा नेपाली बलरहरू दबाबमा आएका थिए । यदि कप्तान रोहित पौडेलले दीपेन्द्र सिंह ऐरी वा सन्दीप लामिछाने जस्ता स्पिनरहरूलाई अन्तिम ओभरहरूमा बढी प्रयोग गरेका भए, १६० रनको हाराहारीमै इङ्ल्यान्डको रन सीमित हुन सक्थ्यो ।
२. फिल्डिङमा बारम्बारका गल्ती दोहोरिनुः क्रिकेटमा फिल्डिङलाई ‘गेम चेन्जर’ भनिन्छ, तर नेपाल यहि क्षेत्रमा बारम्बार चुकिरह्यो । आसिफ शेखले विकेटकिपिङ गर्दा दुईवटा महत्वपूर्ण क्याच ड्रप गरेका थिए । त्यस्तै नेपालको फिल्डिङ पनि चुस्त रहन सकेन; मिसफिल्डहरूले इङ्ल्यान्डलाई १० देखि १५ अतिरिक्त रन दिएका थिए ।

यसबाहेक, रनिङ बिटविन विकेट्समा नेपाली फिल्डरहरूको सुस्तताले इङ्लिस ब्याटरहरूलाई सिंगल्स र डबल्स रन चोर्न सजिलो बनाएको थियो । उदाहरणका लागि, सन्दीप लामिछानेको १७ औँ ओभरमा मिसफिल्डका कारण एक रन थपिएको थियो । नेपालका फिल्डरहरूले दबाबमा ‘नर्भस’ देखिएका थिए, जसले इङ्ल्यान्डलाई १८४ रनसम्म पु¥याउन मद्दत गरेको थियो । यदि नेपालले फिल्डिङमा अनुशासन कायम गरेको भए, लक्ष्य कम हुन्थ्यो र विजयी लक्ष्य चेजिङ पनि सजिलो हुने थियो ।
३. ब्याटिङ फिनिसिङको कमजोरीः नेपालको ब्याटिङ राम्रो थियो । कुशल भुर्तेलको २९ रन, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको ८२ रनको साझेदारीले खेललाई नेपालको पक्षमा ल्याएको थियो । तर नेपाल फिनिसिङमा चुक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा साम करनविरुद्ध लोकेश बम र करण केसीले ५ रन मात्र बनाए । जहाँ लोकेशले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाए पनि अन्तिम बलमा छक्का प्रहार गर्न सकेनन् ।

लोकेशले छक्काको प्रयास गरेता पनि साम करनको योर्करहरूले उनलाई छक्का प्रहार गर्नबाट रोकेको थियो । त्यति मात्र होइन दबाबमा ‘एक्जिक्युसन’ मा चुकेको नेपालले अन्तिम ओभरको पाँचौँ बलमा एक रन पनि लिन सक्थ्यो, तर लोकेशले अन्तिम बल आफैँलाई राख्ने निर्णय गलत साबित भएको थियो । नेपालले अन्तिम तीन ओभरमा ४६ रन बनायो, तर फाइनल ओभरमा चुक्न पुगेको थियो । यदि अनुभवी ब्याटरहरूले रन चोर्ने र बाउन्ड्री प्रहार गर्ने सन्तुलन कायम गरेको भए, यो जित नेपालको हुन सक्थ्यो ।
४. कप्तानी र रणनीतिक निर्णयहरूमा कमीः कप्तान रोहित पौडेलले खेलमा राम्रो नेतृत्व गरेका थिए तर रणनीतिक निर्णयमा उनी पनि बारम्बार चुकेका थिए । उदाहरणका रुपमा कुशल भुर्तेललाई रोहितले ४ ओभर बलिङ गर्न दिँदा उनले ४० रन दिए, जबकि राम्रो प्रदर्शन गर्ने दीपेन्द्रले २ ओभरमा २३ रन र नन्दन यादवले त झन बलिङको पूर्ण कोटा नै पाएनन् । त्यति मात्र होइन रोहितले इङ्ल्यान्डविरुद्धको खेलमा स्पिनरहरूलाई निकै कम प्रयोग गरेका थिए । जसले इङ्ल्यान्डलाई फाइदा पुगेको थियो ।

अझ रोहितले अन्तिम ओभर बलिङ गर्न करण केसीलाई दिनु रणनीतिक गल्ती नै भएको थियो । त्यस बाहेक पावरप्लेपछि स्पिनरहरूको प्रयोगमा पनि ढिलाइ भएको थियो । यदि रोहितले अनुभवी सन्दीप लामिछानेलाई डेथमा बढी विश्वास गरेको भए, इङ्ल्यान्डको स्कोर अझै कम हुन सक्थ्यो ।
५. अनुभवहीनता र दबाब व्यवस्थापनको अभावः नेपालका धेरै खेलाडीहरू जस्तै शेर मल्ल, नन्दन यादव, लोकेश बमले विश्वकप डेब्यू गर्दै थिए, जसले उनीहरुप्रष्ट दबाबमा प्रभाव परेको देखिन्थ्यो । सोही कारण इङ्ल्यान्डका साम करनले अन्तिम ओभरमा नेपाली खेलाडीविरुद्ध ६ वटा योर्कर बल फ्याँक्दै खेल उनीहरुको पक्षमा पारेका थिए ।

डेल स्टेन जस्ता दक्षिण अफ्रिकाका दिंगज पूर्व खेलाडीहरूले नेपालको ‘प्रदर्शन’ को प्रशंसा गरेता पनि अनुभवको कमीले नेपालले हार व्यहोरेको थियो । समग्रमा इङ्ल्यान्डविरुद्धको ४ रनको हार नेपाल र नेपालीहरका लागि दुखद भएता पनि यस खेलले नेपाललाई विश्व क्रिकेटमा ‘अन्डरडग’ बाट ‘च्यालेन्जर’ टोली बनाएको छ । यदि नेपालले दबाबलाई चिर्दै फिल्डिङमा सुधार, फिनिसिङमा अभ्यास र आफ्नो अनुभव बढाउने हो भने अब बाँकी रहेका इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डविरुद्ध सहज जित निकाल्दै सुपर ८ को यात्रा तय गर्ने वाटो पनि खुला नै छ ।































प्रतिक्रिया