रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

केन्द्रबिन्दु
6
Shares

भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ। भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको पूर्वाधार विस्तार भएको छ।

संघीय प्रणालीपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको हो। पाँच हजार दर्शक अट्न सक्ने क्षमताको रङ्गशाला कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण गरिएको छ। करिब सात हजार वर्गमिटर क्षेत्रफलमा संरचना निर्माण गरिएको छ भने कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालामा सात वटा प्यारापिट तयार गरिएका छन्।

विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले रु ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत जग्गा खरिद गरेको थियो। प्रारम्भिक चरणमा बजेट विनियोजन गरी स्तरोन्नतिको काम सुरु भए पनि स्रोत अभावका कारण योजना अघि बढ्न सकेको थिएन।

अहिले रङ्गशाला निर्माण सम्पन्न भएपछि जिल्लामा राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको छ। यसले खेलसँग सम्बन्धित गतिविधि विस्तार हुनुका साथै स्थानीय स्तरमा आर्थिक गतिविधिमा पनि प्रभाव पर्ने देखिएको छ।

भोजपुरमा जन्मिएकी अल्ट्रा धाविका मिरा राईले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पहिचान बनाएकी छन्। ब्याडमिन्टनतर्फ नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ, विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठ तथा भलिबलतर्फ जोसन श्रेष्ठ र दुर्जकुमार राईलगायत खेलाडी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन्।

खेल पूर्वाधार अभावका कारण विगतमा नियमित प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको थियो। रङ्गशाला निर्माण भएपछि जिल्लामा खेल गतिविधि बढ्नुका साथै युवाको सहभागिता पनि विस्तार हुने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo