काठमाडौँ। उच्च स्कोरको खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई फेरि निराश बनाएको छ। चिन्नास्वामी मैदानमा भएको रोमाञ्चक खेलमा आरसीबी ४३ रनले विजयी हुँदै लयमा देखिएको छ।
पहिले ब्याटिङ गरेको बेंगलोरले आक्रामक सुरुवात र विस्फोटक अन्त्यसहित २० ओभरमा ३ विकेट गुमाएर २५० रन बनायो। मध्यक्रममा टिम डेभिडले केवल २५ बलमा ७० रन ठोक्दै खेलको दिशा बदलिदिए। देवदत्त पडिक्कलको अर्धशतक र कप्तान रजत पातिदारको तीव्र ४८ रनले स्कोरलाई अझै उचाल्यो, जबकि फिल साल्टले पनि सुरुवात मजबुत बनाएका थिए।
२५१ रनको कठिन लक्ष्य पछ्याएको चेन्नाई सुरुवातमै दबाबमा आयो। कप्तान रुतुराज गायकवाड छिट्टै आउट भएपछि इनिङ्सले गति लिन सकेन। बीचमा सरफराज खान र प्रशान्त वीरले केही प्रतिरोध देखाए पनि निरन्तर विकेट झर्दा टोली खेलमा फर्किन सकेन।
अन्ततः चेन्नई १९.४ ओभरमै २०७ रनमा समेटियो। ओभरटनले छिटो रन बनाए पनि त्यो पर्याप्त भएन। बलिङतर्फ आरसीबीका भुवनेश्वर कुमार प्रभावशाली देखिए। उनले ३ विकेट लिए भने क्रुनाल पाण्ड्या, ज्याकोब डफी र अभिनन्दन सिंहले समान २–२ विकेट लिएर चेन्नाईको प्रयास तोडे। यो जितसँगै आरसीबीले लगातार दोस्रो सफलता हात पार्दै अंकतालिकामा माथिल्लो स्थान कब्जा गरेको छ। उता, चेन्नाई भने लगातार तेस्रो हारसँगै दबाबमा परेको छ-जहाँ अब उसलाई लय फर्काउन चुनौती थपिएको छ।





























प्रतिक्रिया