मेसी र रोनाल्डोको अन्तिम विश्वकप भारतमा नदेखिने खतरा, कारण के ?

मेसी र रोनाल्डोको अन्तिम विश्वकप भारतमा नदेखिने खतरा, कारण के ?

केन्द्रबिन्दु
48
Shares

नयाँ दिल्ली । फिफा विश्वकप २०२६ सुरु हुन अब दुई महिनाभन्दा कम समय बाँकी छ । तर इतिहासमै पहिलोपटक, अहिलेसम्म भारतमा विश्वकप प्रसारणका लागि कुनै पनि आधिकारिक ब्रोडकास्टर (प्रसारक) निश्चित हुन सकेको छैन। यदि यो गतिरोध अन्त्य भएन भने, लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्भवतः ‘अन्तिम विश्वकप’ भारतीय पर्दामा ‘ब्ल्याक आउट’ हुने खतरा बढेको छ।

अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्ने र पोर्चुगलले ऐतिहासिक सफलताका लागि संघर्ष गर्ने प्रतिक्षामा रहेका करोडौं प्रशंसकहरू अहिले अन्यौलमा छन्। भारतका ठूला मिडिया नेटवर्कहरू सोनी र जियो-स्टारले फिफासँगको महँगो सम्झौतामा हात हाल्न हिचकिचाइरहेका छन्।

किन प्रसारण अधिकारमा समस्या आयो ?

यस पटक भारतमा विश्वकप प्रसारण नहुने जोखिमका पछाडि मुख्य तीन कारणहरू देखिएका छन्:

१. समयको प्रतिकूलता: यस पटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ। त्यहाँका खेलहरू भारतीय समय अनुसार मध्यरात १२ बजेदेखि बिहान ५ बजेको बीचमा पर्नेछन्। यस्तो समयमा दर्शक संख्या निकै कम हुने र विज्ञापनबाट उठ्ने आम्दानी घट्ने डरले च्यानलहरू डराइरहेका छन्।

२. महँगो शुल्क: फिफाले सुरुमा सन् २०२६ र २०३० को विश्वकपका लागि भारतसँग करिब १०० मिलियन डलर माग गरेको थियो। पछि माग घटाएर ३५ मिलियन डलर (करिब ६५ प्रतिशत छुट) मा झार्दा पनि भारतीय नेटवर्कहरूले यसलाई ‘जोखिमपूर्ण लगानी’ मानिरहेका छन्।

३. क्रिकेटको दबदबा: अहिले भारतमा आइपिएलको रौनक छ र अगाडि पनि क्रिकेटको कार्यतालिका व्यस्त छ । ब्रोडकास्टरहरू फुटबलमा भन्दा क्रिकेटमा पैसा खर्च गर्नु सुरक्षित ठानिरहेका छन्।

के दूरदर्शनले बचाउला त ?

निजी च्यानलहरू पछि हटेको अवस्थामा सरकारी च्यानलले अधिकार लिने सम्भावना देखिएको छ । खेलकुद प्रसारणसम्बन्धी कानुनी प्रावधानअनुसार, राष्ट्रिय महत्त्वका प्रमुख खेलहरू जनतासम्म पुर्‍याउनुपर्ने हुन्छ । यदि त्यसो भयो भने, सामान्य गुणस्तरको उत्पादनमा भए पनि दर्शकले निःशुल्क खेल हेर्न पाउनेछन्।

मेसी र रोनाल्डोका लागि अन्तिम अवसर

यो प्रसारण अवरोधले दक्षिण एसियाका फुटबल समर्थकहरूलाई निकै निराश बनाउनेछ। ३८ वर्षीय लियोनेल मेसी आफ्नो कीर्तिमानी छैटौँ विश्वकपमा अर्जेन्टिनालाई फेरि च्याम्पियन बनाउने दाउमा छन्।

उता ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले २०२६ को विश्वकप नै आफ्नो अन्तिम प्रतियोगिता हुने घोषणा गरिसकेका छन्। आफ्नै खेल जीवनको अन्तिम ठूलो ट्रफी जित्ने उनको सपना कस्तो हुन्छ भन्ने हेर्न भारतीय प्रशंसकहरू आतुर छन्।

Logo