रुबिनाको घातक बलिङ र पूजाको उत्कृष्ट ब्याटिङले इटालीमाथि ५० रनको जित

रुबिनाको घातक बलिङ र पूजाको उत्कृष्ट ब्याटिङले इटालीमाथि ५० रनको जित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । रुवाण्डाको किगालीमा जारी २०२६ आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

रुवाण्डा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटाली १८.४ ओभरमा मात्र ६२ रनमा समेटिएपछि नेपालले सानदार जित दर्ता गरेको हो।

नेपाललाई जिताउन अनुभवी बलर रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ प्रदर्शन गरिन्। उनले मात्र २.४ ओभरमा ४ रन खर्चिएर ४ महत्वपूर्ण विकेट लिँदै इटालीको ब्याटिङ लाइनअप ध्वस्त पारिन्।

त्यस्तै, कविता कुँवरले ३ ओभरमा १२ रन दिएर २ विकेट लिइन् भने मनिषा उपाध्यायले १ विकेट हात पारिन्। इटालीका लागि चतुरिका महामलागेले ४६ बलमा अविजित २२ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले संकट व्यवस्थापन गर्दै ४५ बलमा ४८ रनको नटआउट इनिङ खेलिन्।

त्यस्तै सम्झना खड्काले १६ र बिन्दु रावलले १५ रन बनाइन्। इटालीका तर्फबाट इमिलिया बार्ट्रामले ३ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन।

ब्याटिङ र बलिङ दुवैमा योगदान दिएकी रुबिना क्षेत्री खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

Skip This
Skip This
Logo