काठमाडाैं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २ सय ५७ रनको लक्ष्य दिएको छ।
आज टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनायो।
नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे पनि मात्र ६ रनले शतक बनाउन असफल रहे। उनले ९७ बलको सामना गर्दै ७ चौका र ५ छक्काको मद्दतमा ९४ रनको योगदान दिए। अर्का ओपनर विनोद भण्डारी भने पहिलो ओभरमै शून्य रनमा आउट भएका थिए।
दोस्रो विकेटका लागि आसिफ शेख र अर्जुन कुमालले १ सय २३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। कुमालले ८७ बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाए। मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे भने गुलशन झा १७ रनमा आउट भए। कप्तान रोहित पौडेलले ९ रन मात्र बनाउन सके।
खेलको अन्त्यतिर आरिफ शेखले विष्फोटक ब्याटिङ गर्दै नेपालको योगफल उकासेका थिए। उनले मात्र २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४३ रन बनाए। तल्लो क्रमका अन्य ब्याटरहरू सस्तैमा समेटिएपछि नेपालले ठूलो स्कोर बनाउने अवसर गुमाएको थियो।
ओमानका तर्फबाट नदीम खानले किफायती बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, शकील अहमदले २ विकेट झार्दा जितेन रामानन्दी, हसैन शाह र आर्यन विष्टले समान १-१ विकेट हात पारे।





























प्रतिक्रिया