नेपाल ‘ए’ ले ३०३ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई पनि हरायो

नेपाल ‘ए’ ले ३०३ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई पनि हरायो

केन्द्रबिन्दु
423
Shares

काठमाडौं । नेपालमा जारी पाँचौँ एकदिवसीय खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डकवर्थ लुइस (डीएलएस) पद्दतिका आधारमा ९ रनले पराजित गरेको छ।

मुलपानी मैदानमा स्कटल्याण्डले दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा खेल रोकिनुअघि नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नतिजा आफ्नो पक्षमा पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रनको बलियो योगफल तयार पारेको थियो। स्कटल्याण्डका लागि प्रारम्भिक ब्याट्सम्यान जर्ज मुन्सेले आक्रामक ५१ बलमा ६२ रनको इनिङ्स खेलेका थिए। यस्तै माइकल इङ्लिसले अविजित ५६ रन र कप्तान रिचर्ड बेरिंगटनले ४० रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ आकाश चन्दले ९ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए। शेर मल्ल, बिपिन खत्री र पवन सर्राफले समान १-१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ ले ३४.५ ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाउँदा खेल रोकिएको थियो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा अविजित ८३ रन बनाए।

उनलाई इशान पाण्डेले ५० रन बनाउँदै बलियो साथ दिएका थिए। त्यस्तै त्रित राज दासले २४ रन र बसिर अहमदले २० रन जोडे। खेल रोकिँदाको समयमा नेपाल डीएलएस नियम अनुसार पार स्कोरभन्दा ९ रनले अगाडि रहेका कारण विजयी घोषित भयो।

स्कटल्याण्डका लागि मार्क वाट, ब्राडली करी, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १-१ विकेट लिएका थिए।

नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको आइसिसी विश्वकप लिग -२ को सिरिजअघि नेपाल ए टोलीसँग यो अभ्यास सिरिज भएको हो। नेपाल ए टोलीले यसअघि स्कटल्यान्डलाई ४५ रन र अमेरिकामाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो ।

Logo