काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्समाथि ७७ रनको सहज जित हासिल गर्दै गुजरात टाइन्टन्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार सवाइमान सिंह क्रिकेट रंगशालामा पाहुना टोली गुजरातले प्रस्तुत गरेको २३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६.३ ओभरमा १५२ रनमै समेटियो । राजस्थानका रविन्द्र जडेजाले ३८, वैभव सुर्यवंशीले ३६ र धुव्र जुरेल २४ रन बनाए । दासुन शनकाले १६ र शुभम दुबेले १५ रन जोडे ।
गुजरातका रशिद खानले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३३ रन खर्चिए । जेसन होल्डरले तीन, कागिसो रबडाले दुई र मोहम्मद सिराजले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङका लागि आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको थियो । गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेले ।
साई सुदर्शनले ५५ रन बनाए । उनले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । वासिङ्टन सुन्दर ३७ तथा राहुल तेवातिया १४ रनमा अविजित रहँदा जस बट्लरले १३ रन जोडे । राजस्थानका ब्रिजेश शर्माले दुई तथा यश राज पुञ्जा र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
जितसँगै ११ खेलमा १४ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट १२ अंकका साथ पाँचौँ स्थानमा छ ।




















