मलेसियालाई ७ विकेटले हराउँदै नेपालले जित्यो सिरिज

मलेसियालाई ७ विकेटले हराउँदै नेपालले जित्यो सिरिज

केन्द्रबिन्दु
162
Shares

काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटको सहज जित दर्ता गरेको छ। यस जितसँगै नेपालले दुई खेलको टी–२० शृङ्खला २–० ले क्लिन स्विप गर्दै आफ्नो पोल्टामा पारेको छ।

मलेसियाको क्लाङस्थित बायुइमास क्रिकेट ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो। ८३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर ८३ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा ओपनर सम्झना खड्का र प्लेयर अफ द म्याच कविता कुँवरले सानदार ब्याटिङ गरे। सम्झनाले ३७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक ३९ रनमा अविजित रहिन्।

त्यस्तै, बलिङ र ब्याटिङ दुवैमा चम्किएकी कविता कुँवरले २० बलमा १ चौका प्रहार गर्दै १९ रनको योगदान दिइन् र उनी पनि नटआउट फर्किइन्। सोनी पाख्रिनले २४ बलमा १२ रन बनाउँदा पुजा महतोले ८ रन जोडिन्। मलेसियाका लागि आइस्या एलिसा फिरदौस, ऐन्ना हमिजाह हासिम र नुर दानिया स्युहादाले समान १–१ विकेट लिए।

यसअघि मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। कविता कुँवरले ४ ओभरमा मात्र १० रन खर्चेर २ विकेट लिइन्। कप्तान रुबिना क्षेत्रीले २ ओभरमा ५ रन दिएर २ विकेट लिँदा रिया शर्माले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारिन्।

मलेसियाका लागि ऐन्ना हमिजाह हासिमले ३० बलमा १७ रन, धनुस्री मुहुननले २० बलमा १५ रन र नुर आरियाना नात्स्याले १२ बलमा अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले नेपाली बलरसामु खुलेर खेल्न सकेनन्।

एसियाली खेलकुदको तयारीका रूपमा हेरिएको यस शृङ्खलाको पहिलो खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो।

Skip This
Skip This
Logo