काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) मा आफ्नो प्रतिनिधिको रूपमा रहेका छुम्बी लामालाई फिर्ता बोलाएको छ। लामा क्यानका प्रवक्तासमेत हुन् ।
परिषद्ले शुक्रबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, २०८३ जेठ ११ गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको छ।
परिषद्ले २०८० चैत २९ गते लामालाई नेपाल क्रिकेट संघको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो। नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको छ।
नेपाल क्रिकेट संघको स्वीकृत विधान २०५५ (चौथो संशोधन २०८) सहित० को दफा ३ को उपदफा (४) को व्यवस्था बमोजिम उनलाई जिम्मेवारीबाट हटाइएको राखेपले जनाएको छ।
यो निर्णयको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खेलकुद विकास विभाग र नेपाल क्रिकेट संघलाई समेत दिइएको छ। लामालाई किन फिर्ता बोलाइएको हो भन्नेबारे पत्रमा स्पष्ट कारण भने खुलाइएको छैन, केवल विधानको दफालाई उद्धृत गरिएको छ।
































प्रतिक्रिया