महिला साफ च्याम्पियनसिप : गोवामा नेपाल र बंगलादेश भिड्दै

महिला साफ च्याम्पियनसिप : गोवामा नेपाल र बंगलादेश भिड्दै

केन्द्रबिन्दु
18
Shares

गोवा । नेपालले महिला साफ च्याम्पियनसिप फुटबलमा आज बुधबार जवाहरलाल नेहरु स्टेडियममा हुने पहिलो सेमिफाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्नेछ । नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेलमध्ये एक रहनेछ ।

सन् २०१६ मा एकपल्ट मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो । प्रतियोगिताका बाँकी संस्करणमा भने नेपाल उपविजेता रहेको छ । त्यस अर्थमा नेपाल छपल्ट प्रतियोगिताको दोस्रो राम्रो टिममा दरिएको छ । यसपल्ट फाइनल पुग्छ भने नेपालसामु एउटा अर्को अवसर बन्ने छ, पहिलो पटक कुनै ठूलो उपाधि जित्ने । त्यसैले त प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि ‘निकै ठूलो’ खेल रहेको बताएका छन् ।

सेमिफाइनलको अघिल्लो दिन नेपालले बेम्बोलिम एथलेटिक स्पोटर्स ग्राउन्डमा बिहानी समयमा अभ्यास गरेको थियो । प्रशिक्षणपछि मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले नेपाली टिम सेमिफाइनलका लागि पूर्णतः तयार रहेको दाबी गर्दै भने, ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो होइन, निकै ठूलो खेल रहेको छ । हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ, खासै केही ठूलो समस्या छैन । हामी यो खेललाई लिएर उत्साही पनि छौं ।’

नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशको हातबाट पराजित थियो । त्यसैले नेपालसामु यी दुई फाइनलमा बेहोरेको हारको बदला लिने अवसर हुनेछ । तर प्रशिक्षक न्यौपानेले भने फुटबलमा बदला भन्ने नै नहुने दाबी गरे । उनले भने, ‘हाम्रो मनमा बदला भन्ने भावना छैन । हाम्रो एक मात्र उद्देश्य प्रतियोगिताको उपाधि जित्ने हो र सेमिफाइनल त्यसअघिको खुड्किलो हो ।’

बंगलादेशी टिमले भने मंगलबारको प्रशिक्षण कार्यक्रम रद्द गरेको थियो । बंगलादेशी खेलाडी सेउली अजामकी आमाको निधन भएको हुनाले टिम प्रशिक्षण कार्यक्रममा सहभागी भएन । प्रशिक्षक न्यौपानेले बंगलादेशलाई बलियो प्रतिद्वन्द्वी रहेको माने ।

उनले भने, ‘बाहिर बंगलादेशी टिमबारे जस्तै हल्ला चले पनि बलियो टिम हो । हामी बंगलादेश कमजोर रहेको मान्ने पक्षमा छैनौं । मलाई लाग्छ, बंगलादेश प्राविधिक रूपमा सबल टिम छ । हाम्रो ध्यान यही टिमविरुद्धको खेलमा केन्द्रित छ । हामीले बंगलादेशविरुद्धको खेलमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

कम्बोडियाबाट अघिल्लो दिन मात्र गोवा आइपुगेकी प्रीति राईले प्रशिक्षणमा सहभागी भइन् । उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने अपेक्षा गरिएको छ । उनी आएपछि नेपाली टिमको मध्यपंक्ति प्रीतिसँगै रेनुका नगरकोटेले सम्हाल्ने छन् । प्रशिक्षणका क्रममा नेपाली टिमले पेनाल्टी शुटआउटको पनि अभ्यास गरेको थियो । सम्भवतः नेपालको नजर सम्भावित टाइब्रेकरतर्फ पनि छ ।

यी दुई टिमबीच १३ खेल भएको छ । त्यसमध्ये नेपाल ६ खेलमा विजयी छ । सन् २०१० मा नेपाल र बंगलादेशबीच पहिलो खेल भएको थियो, दक्षिण एसियाली खेलकुदमा । त्यसपछि सन् २०२१ सम्म नेपाल बंगलादेशविरुद्ध लगातार अपराजित रह्यो । अझ सुरुआती ४ खेलमा त बंगलादेश नेपालविरुद्ध एउटै गोल गर्न पनि सक्षम भएको छैन ।

दुई टिमबीच पछिल्ला ६ खेलमा बंगलादेश दुईपल्ट विजयी छ । दुवै जित पछिल्लो साफ च्याम्पियनसिपको फाइनलमा प्राप्त भएको हो । सन् २०२४ मा बंगलादेशले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाललाई हराएयता दुई टिमबीच पहिलो पटक खेल हुन लागेको हो ।

Skip This
Skip This
Logo