काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको छ।
बुधबार भएको रोमाञ्चक खेलमा अन्तिम समय सम्हालिन नसक्दा नेपाली टोली प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिन पुगेको हो।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोर्नुपर्यो। खेलको २२औं मिनेटमा नेपालका लागि गिता रानाले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले खेललाई बराबरीमा ल्यायो। बंगलादेशका लागि चक्माले ४५औं मिनेटमा गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा पुर्याइन्।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि निर्धारित ९० मिनेटसम्म थप गोल हुन सकेन। तर, इन्जुरी समयको चौथो मिनेटमा बंगलादेशले निर्णायक गोल गर्दै नेपालको फाइनल यात्रामा पूर्णविराम लगायो। बंगलादेशकी सब्सिच्युट खेलाडी सागोरिकाले गोल गर्दै बंगलादेशको जित पक्का गरेकी हुन् । शामसुनहर जुनियरले नेपाली डिफेन्डरलाई छक्याउँदै दिएको ‘कट ब्याक’ पासमा सागोरिकाले दुई नेपाली खेलाडीको दबाबका बीच बललाई जालीको दिशा दिएकी थिइन्।































प्रतिक्रिया