काठमाडौं । फुटबलमा दिग्गज पुस्ताहरूको उपस्थिति र पाँच पटकको विश्वविजेताका कारण विश्वकपमा ब्राजिललाई बलियो टिमका रूपमा लिइन्छ।
पाँच पटकको विश्वविजेताको पछिल्ला पाँच संस्करणको प्रस्तुति भने निराशाजनक छ । यसपटकको विश्वकपमा फ्यानहरूलाई उत्साह भर्न र सनसनीपूर्ण प्रदर्शनका लागि ब्राजिलले प्रविधिको सहारा लिने लिएको छ ।
खेलाडीहरूको दौडको गति, मुटुको धड्न र थकानको अवस्थिति मापनका लागि ब्राजिलले वेयरेवल प्रविधिको प्रयोग गरिरहेको हो । प्रशिक्षक कार्लो एन्सेलोटी र उनको टोलीलाई विश्वकपमा रणनीतिक निर्णय लिन सहज हुनेगरी प्रविधिको विकास गरिएको छ । अब बुझौँ यो प्रविधिले उपलब्ध गराउने तथ्यांकले ब्राजिललाई कसरी सहयोग पुग्छ त?
ब्राजिलका अधिकांश व्यावसायिक खेलाडीहरूले आफ्नो जर्सीभित्र स्मार्ट भेस्ट लगाउँछन् । यसले उनीहरूको हिँडडुल, दौडधूप, शारीरिक अवस्थाबारेको तथ्यांक उपलब्ध गराउँछ । यसले प्रशिक्षकलाई रणनीतिक निर्णय लिन सहयोग पुर्याउने ब्राजिलियन टोलीका खेल विज्ञान प्रमुख गिल्हर्म पेसोस बताउँछन् ।
यस्तो ट्र्याकिङ प्रविधि विगत एक दशकमा द्रुत गतिमा विकसित भएको छ, र अहिले विश्वकपमा सहभागी अधिकांश टोलीहरूले यी इलेक्ट्रोनिक पर्फर्मेन्स र ट्र्याकिङ प्रणालीहरू प्रयोग गरिरहेका छन्।
राष्ट्रिय टोलीमा रहेका खेलाडीहरू विभिन्न क्लबमा आबद्ध हुन्छन् । त्यसैले राष्ट्रिय टिममा आउनुअघि उनीहरूको विवरण जान्नका लागि यो प्रविधि प्रयोग गरिएको पेसोस बताउँछन् । ”खेलाडीहरू जहाँसुकै व्यस्त हुँदा पनि उनीहरूको अवस्थितिबारे हामीलाई जानकारी होस् भन्नका लागि यो प्रविधि प्रयोग गरिएको हो,” उनले भने ।
ट्रयाकिङ प्रविधिले ब्राजिलका स्टाफहरूलाई खेलाडीहरू हजारौँ माइल टाढा हुँदा पनि उनीहरूको अवस्था चुस्त रूपमा नियाल्न सम्भव बनाएको उनको दाबी छ । ठूला प्रतियोगिताअघि खेलाडीहरूको वास्तविक अवस्था जानकारी पाउनु टोलीका लागि सबैभन्दा ठूलो धन रहेको पेसोसको भनाइ छ ।
यो निगरानी प्रणालीले आधुनिक फुटबलमा खेलाडीहरूका लागि टाउको दुखाइ बन्ने गरेको ‘ह्यामस्ट्रिङ’ चोटको उचित समयमै उपचारमा सहयोग पुग्ने दाबी पेसोसको छ । ”खेलाडीहरूमा ह्यामस्ट्रिङ समस्या छ वा छैन वा कस्तो अवस्थामा छ भन्ने कुरामा यसले सहयोग पुर्याउँछ । मांसपेशी पूर्ण रूपमा तंग्रिएको सुनिश्चित गर्नका लागि प्रविधिले सहयोग गर्छ,” उनी भन्छन् ।
यसले दिने तथ्यांकबाट प्रशिक्षकले कुन खेलाडीलाई आराममा राख्ने र कसलाई अट्याकमा पठाउने निर्णय लिनसक्ने बताइएको छ । ब्राजिलका खेलाडीले विश्वकपका सम्पूर्ण खेलमा यो स्मार्ट भेस्ट लगाउनेछन् । यसले उनीहरूको थकान र तन्दुरुस्तीको सम्पूर्ण विवरण उपलब्ध गराउने छ । ब्राजिलियन खेलाडीले लगाउने यो भेस्ट क्याटापल्ट कम्पनीले तयार गरेको हो ।
फुटबल भनेको दौडधुप मात्र होइन । मैदानमा धेरै दौडिँदैमा खेल उत्कृष्ट हुँदैन । उत्कृष्ट शारीरिक सूचक भएको खेलाडी पनि टोलीको विशेष रणनीतिक प्रणालीमा अनुपयुक्त साबित हुन सक्छ। बरु, मैदानमा सही स्थान रोज्ने कला सही समयमा सही निर्णय लिने क्षमता वा नेतृत्वदायी गुणले नै खेलाडीको करियरलाई उचाइमा पुर्याउँछ । ”कहिलेकाहीँ कुनै खेलाडीको शारीरिक क्षमता लोभलाग्दो हुँदाहुँदै पनि प्रशिक्षण उनलाई बाहिरै राख्छन् । ती खेलाडीले कुशल खेल प्रदर्शन गर्छन् भन्नेमा प्रशिक्षक विश्वस्त हुँदैन । त्यसैले सबै अवस्थाको वास्तविक जानकारी दिन प्रविधि सहयोगी बन्नसक्छ,” पेसोस भन्छन् ।
एआईमा आधारित सूचना प्रविधिका कारण प्रशिक्षकहरूको सूचना दायरा फराकिलो बन्ने भएको छ । फुटबलमा यो प्राविधिक क्रान्तिका बाबजुद, ब्राजिलका फुटबल रणनीतिकारहरू खेलको निर्णायक कारक तत्त्व, मानवीय निर्णय अझै पनि अपरिवर्तित रहेको विश्वास गर्छन्।
प्रविधि मानवीय निर्णय क्षमताको सहायक मात्रै भएको पेसोस बताउँछन् । “सबैभन्दा ठूलो र मुख्य भिन्नता नै प्रविधिको पछाडि रहेका ती विशेषज्ञ मस्तिष्कहरू हुन्, जसले तथ्याङ्कको गहिरो विश्लेषण गरी त्यसलाई मैदानको व्यावहारिक निर्णयमा रूपान्तरण गर्छन्,” पेसोस बताउँछन् ।
‘वेयरेबल’ प्रविधिले प्रशिक्षकहरूलाई आफ्नो नजरमा सबैभन्दा उत्कृष्ट टोली विश्वकपको मैदानमा उतार्न पक्कै मद्दत पुर्याउन सक्छ। तर, ऐतिहासिक सफलता वा उपाधिको फैसला भने अझै पनि मैदानमा ती खेलाडीहरूले प्रदर्शन गर्ने खेल कौशलकै आधारमा हुनेछ ।





























प्रतिक्रिया