पाकिस्तानी टेस्ट खेलाडीको म्याच-फी दोब्बरले बढ्ने, उपाधि जिते ५०० प्रतिशतसम्म बोनस !

पाकिस्तानी टेस्ट खेलाडीको म्याच-फी दोब्बरले बढ्ने, उपाधि जिते ५०० प्रतिशतसम्म बोनस !

केन्द्रबिन्दु
9
Shares

इस्लामावाद । पाकिस्तान क्रिकेट बोर्डले आगामी २०२६–२७ को केन्द्रीय सम्झौतामा व्यापक र ऐतिहासिक फेरबदल गर्ने तयारी गरेको छ । नयाँ फर्म्याटमा आधारित सम्झौता प्रणाली अन्तर्गत विशेष गरी टेस्ट क्रिकेट खेल्ने खेलाडीहरूको म्याच फी (प्रतियोगिता शुल्क) साविकको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि गरिने भएको हाे ।

नयाँ नियम अनुसार टेस्ट क्रिकेटको ‘ट्र्याक-ए’ मा पर्ने खेलाडीहरूको प्रतिम्याच शुल्क १५ लाख पाकिस्तानी रुपैयाँबाट बढाएर करिब ४० लाख रुपैयाँ पुर्‍याइने सम्भावना छ । ह्वाइट-बल हेड कोच माइक हेसन र रेड-बल हेड कोच सरफराज अहमद सम्मिलित समितिले यस नयाँ सम्झौताको मस्यौदा तयार पारेको पीसीबी स्रोतले जनाएको छ ।

यसका साथै खेलाडीहरूलाई प्रोत्साहित गर्न बोर्डले ठूलो बोनसको समेत प्रस्ताव अघि सारेको छ । यदि पाकिस्तानी टोलीले कुनै पनि आईसीसी प्रतियोगिताको उपाधि जितेमा खेलाडीहरूलाई म्याच फीको ५०० प्रतिशत अतिरिक्त बोनस दिइनेछ भने एसिया कप जस्ता महादेशीय स्तरका प्रतियोगिता जितेमा ३०० प्रतिशत बोनस उपलब्ध गराइनेछ ।

पीसीबीको इतिहासमा पहिलो पटक फर्म्याटमा आधारित केन्द्रीय सम्झौता लागू गर्न लागिएको हो । यसअघि खेलाडीहरूलाई ए, बी, सी र डी श्रेणीमा राखिने गरेकोमा अब खेलको फर्म्याट अनुसार फरक-फरक ट्र्याकमा वर्गीकरण गरिनेछ । जस्तै, ट्र्याक-एमा टेस्ट क्रिकेट खेल्ने खेलाडीहरू, ट्र्याक-बीमा एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीहरू र ट्र्याक-सीमा मुख्य रूपमा टी–२० र फ्रेन्चाइजी क्रिकेट मात्र खेल्ने खेलाडीहरू रहेका छन् ।

पीसीबीका अध्यक्ष मोहसिन नक्वीका अनुसार यो नयाँ प्रणाली आधुनिक क्रिकेटको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको हो । यसबाट टेस्ट र ह्वाइट-बल दुवै फर्म्याट खेल्ने खेलाडीहरूलाई सबैभन्दा बढी फाइदा पुग्नेछ, किनकि उनीहरू ट्र्याक-ए र ट्र्याक-बी दुवैमा समेटिनेछन् ।

यस्ता बहु-फर्म्याट खेलाडीहरूले म्याच फी बाहेक प्रतिमहिना करिब ४८ देखि ५० लाख पाकिस्तानी रुपैयाँ रिटेनर फी (मासिक तलब) पाउनेछन् । केवल ट्र्याक-बीमा रहने खेलाडीले मासिक १८ लाख र ट्र्याक-सीका खेलाडीले १२ देखि १५ लाख रुपैयाँ पाउने सम्भावना छ ।

खेलाडीको सम्झौता र ग्रेड निर्धारण पूर्ण रूपमा उनीहरूको प्रदर्शन र फिटनेस स्तरमा आधारित हुनेछ । टिम छनोट प्रक्रियालाई पारदर्शी बनाउन डाटा विश्लेषणलाई ८५ प्रतिशत र छनोटकर्ताहरूको सिफारिसलाई केवल १५ प्रतिशत महत्त्व दिने नीति बनाइएको छ । पूर्व खेलाडीहरूको भूमिका बढाउन सल्लाहकार समितिमा थप ३ देखि ४ जना अन्तर्राष्ट्रिय खेलाडी थप्ने तयारी छ, जसमा युनिस खान र मोहम्मद हाफिजको नाम चर्चामा छ ।

Logo