काठमाडौँ । आगामी संस्करणदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुवात केही दिन अगाडि नै गर्ने तयारी भएकाे छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाले आईपीएलको सुरुवात केही दिन अगाडि नै गर्न सकिने संकेत दिएका हुन् । अत्याधिक गर्मी र मे महिनाको उत्तरार्धमा हुने मनसुन पूर्वको वर्षाका कारण खेलहरू प्रभावित हुन सक्ने भन्दै बीसीसीआई र आईपीएल गभर्निङ काउन्सिलबीच प्रतियोगिता चाँडै सुरु गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
उनले भने, “यस वर्ष आईपीएल मार्च २८ को आसपास सुरु भएर मे ३१ सम्म चलेको थियो। मे १५ पछि प्रतियोगिताको अन्तिम चरणमा मनसुन पूर्वको वर्षा हुने आशंका सधैँ रहन्छ। अर्कोतर्फ, अत्याधिक गर्मीका कारण खेलाडी र दर्शक दुवैलाई निकै सास्ती हुने गरेको छ। त्यसैले मार्चको अन्तिम साता पर्खनुभन्दा केही दिन अगाडि नै प्रतियोगिता सुरु गर्न सकिन्छ कि भन्नेबारे छलफल चलिरहेको छ।”
सैकियाका अनुसार बोर्डले आगामी संस्करणका लागि मार्च १० देखि मे १५ सम्मको समयतालिका (विन्डो) खोजिरहेको छ। उनले थपे, “आगामी वर्ष आईपीएलको २०औँ संस्करण एक ठुलो उत्सव हुनेछ। प्लेअफ र फाइनल खेलहरूमा खराब मौसमको सामना गर्नुनपरोस् भन्नका लागि हामीले खेल विकास महाप्रबन्धक (पूर्व तीव्र गतिका बलर अबे कुरुभिल्ला) लाई मार्च १० मा सुरु गरेर मे १५ भित्रै प्रतियोगिता सक्ने गरी उपयुक्त विन्डो खोज्न निर्देशन दिइसकेका छौँ।”
यद्यपि, यो नयाँ कार्यतालिका कार्यान्वयन गर्न बीसीसीआईसामु केही चुनौतीहरू भने पक्कै देखिन्छन्। भारतमै हुने अस्ट्रेलियाविरुद्धको पाँच खेलको ‘बोर्डर-गावस्कर ट्रफी’ टेस्ट शृङ्खला मार्च ३ सम्म चल्ने तालिका छ। यसका साथै, मार्च ११ देखि १५ सम्म लन्डनको लर्ड्स मैदानमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीच १५०औँ ऐतिहासिक वार्षिकोत्सव टेस्ट म्याच पनि खेलिँदै छ, जसका कारण ती देशका प्रमुख खेलाडीहरू आईपीएलको सुरुवातमा उपलब्ध नहुन सक्छन्।
यसैबीच, सचिव सैकियाले तत्काल आईपीएलको लिग चरणमा खेलहरूको संख्या नबढाइने स्पष्ट पारेका छन् । सन् २०२२ देखि १० टोली सहभागी भएसँगै आईपीएलमा कुल ७४ खेलहरू (७० लिग र ४ प्लेअफ) हुँदै आएका छन्। यसलाई बढाएर ९४ खेल पुर्याउने र हरेक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्ने अपेक्षा गरिएको भए पनि उक्त योजना हाललाई स्थगित गरिएको छ।





























प्रतिक्रिया