फिफा विश्वकप फुटबल २०२६ : स्पेन ४-० गोलले विजयी

फिफा विश्वकप फुटबल २०२६ : स्पेन ४-० गोलले विजयी

केन्द्रबिन्दु
18
Shares

एटलान्टा । स्पेन फिफा विश्वकप फुटबल २०२६ मा विजय लयमा आएको छ । एटलान्टामा भएको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गर्‍यो । आइतबार साउदी अरेबियालाई पराजित गरेपछि स्पेन समूह ‘एच’ मा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएपछि लगातार आलोचित हुन पुगेको स्पेनले साउदी अरेबियाविरुद्ध भने १० औं मिनेटमै अग्रता बनाएको थियो । केप भार्डेविरुद्ध दोस्रो हाफमा मैदानमा आएका लामिन यमाल प्लेयिङ ११ मा आएका थिए र उनले नै स्पेनबाट पहिलो गोल गरे ।

स्पेनका फरवार्ड मिकेल ओयार्जबलका लागि केप भार्डेविरुद्धको खेल विश्व फुटबलले बिर्सने छैन । पहिलो ३० मिनेटको खेलमा उनले एकपटक पनि बल छुन पाएका थिएनन् । १९६६ यता अहिलेसम्म कुनै एक खेलाडीले आधा घन्टाको खेलसम्म बल नै नछोएको इतिहास नरहेको तथ्याङ्क राख्ने ओप्टाले जनाएको छ ।

ओयार्जबल उनै हुन्, जसले युरो २०२४ को फाइनलमा इंग्ल्यान्डविरुद्ध विजयी गोल गरेका थिए । ओयार्जबलले नै गरेको २ गोलमा स्पेन मध्यान्तरसम्म साउदी अरेबियाविरुद्ध ३–० ले अगाडि रहेको थियो । यमाललाई पहिलो गोलका लागि पास उपलब्ध गराइदिएका ओयार्जबललाई पहिलो हाफपछि परिवर्तन गरिएको थियो ।

मध्यान्तरपछिको चौथो मिनेटमै स्पेनले चौथो गोल गरेको थियो । स्पेनका मार्क कुुकुरेलाको प्रहार साउदी अरेबिाका गोलरक्षक मोहम्मद अल ओवाईसले जसोतसो रोक्न पुगेका थिए । तर उनको शरीरमा लागेर गएको बलमा रक्षक हसन अल ताम्बाकीको खुट्टामा लागेर आत्मघाती गोल हुन पुग्यो । साउदी अरेबियाले पहिलो खेलमा उरुग्वेसँग १–१ को बराबरी खेलेको थियो ।

Logo