नेपालगन्ज । बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा यु–१८ फुटबल प्रतियोगितामा होलिल्याण्डको छात्र र नेपालगन्ज मोडेल एकेडेमीको छात्रा टिम च्याम्पियन भएका छन् ।
छात्रतर्फ होलिल्याण्डले नेपालगन्ज मोडेल एकेडेमीलाई सडेनडेथमा (५–४ गोल) पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । २४ औं मिनेटमा अनमोल विकको गोलबाट होलिल्याण्डले अग्रता लिएको थियो । ४७ औं मिनेटमा सुनिल थारुले गोल गरेर नेपालगन्ज मोडेललाई खेलमा फर्काए । त्यसपछि दुवै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा होलिल्याण्डले सफलता प्राप्त गरेको थियो ।
होलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल रोकामगर, अनमोल विकले गोल गरे । हिमाल पुरीको प्रहार नेपालगन्ज मोडेलका गोलकिपर आयुष चन्दले रोक्न सफल भए ।
नेपालगन्ज मोडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गोल गर्नु भयो भने पुष्कर मल्ल र निराजन शाहीले गोल गर्न सकेनन् ।
फाइनल खेलको प्लेयर अफ द म्याच होलिल्याण्डका गोलकिपर प्रविण सुनार भए । उनलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्वखेलाडी निजामुद्दिन सिद्विकीले पुरस्कृत गरे ।
छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमीले मनकामना ईमि स्कुललाई ३–०ले गोलले पराजित गरेको छ ।
प्रतियोगिताका छात्रतर्फका सर्वोत्कृष्ट खेलाडी होलिल्याण्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज मोडेल एकेडेमीकी भावना खड्का भए ।
विधागतमा उत्कृष्ट छात्रतर्फ होलिल्याण्डका गोलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज मोडेलका सुनिल थारु, मिडफिल्डमा नेपालगन्ज मोडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा होलिल्याण्डका अनमोल विक र उत्कृष्ट प्रशिक्षकमा होलिल्याण्डका जंगबहादुर थापा पुरस्कृत भए ।
छात्रामा उत्कृष्ट गोलकिपर मनकामना स्कुलकी प्रियंका विक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगन्ज मोडेलका क्रमशः शितल रोकाय, सविता चौधरी, ज्योति कँडेल तथा उत्कृष्ट प्रशिक्षकको रुपमा नेपालगन्ज मोडेलका नरेन्द्र शाह पुरस्कृत भए ।नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार प्राप्त गरेको छ ।
विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भोजराज शाहीगलायतले पुरस्कृत गरे । जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए ।





























प्रतिक्रिया