न्युयोर्क — चार पटकको जर्मनीमाथि २–१ को ऐतिहासिक विजय हात पार्दै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अघिल्लो खेलमा कुरासाओसँग गोलरहित बराबरीमा रोकिएको इक्वेडरले न्युयोर्कको न्यु जर्सी मैदानमा शानदार खेल प्रदर्शन गरेको हो ।
गोन्जालो प्लाटाले ७७ औं मिनेटमा गरेको गोल इक्वेडरका लागि निर्णायक बन्यो । पहिलो दुई खेल जितेर जर्मनी यसअघि नै समूह ‘ई’ को विजेता बनेर अन्तिम ३२ मा प्रवेश गरेको थियो ।
यसै समूहबाट आइभोरी कोस्ट पनि नकआउट चरणमा प्रवेश गरेको छ । आइभोरी कोस्टले बिहीबार रातिको अर्को खेलमा कुरासाओलाई २–० ले पराजित गर्यो । जर्मनी र आइभोरी कोस्टको ६–६ अंक भयो । दक्षिण अमेरिकी टोली उत्कृष्ट तेस्रो भएर नकआउट चरणमा पुग्ने निश्चित भएको हो ।
सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहको शीर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यस्तै, १२ समूहका तेस्रो हुने टोलीबाट उत्कृष्ट ८ टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान रहेको छ । इक्वेडरको यस विजयले स्कटल्यान्ड पनि बाहिरिने निश्चित जस्तै भएको छ ।
जर्मनीले लेरो सानेको गोलमा दोस्रो मिनेटमै अग्रता लिएको थयो । निलसन अंगुलोले त्यसको ७ मिनेटपछि नै इक्वेडरलाई बराबरीमा ल्याएका थिए । त्यसयता इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्दै ७७ औं मिनेटमा विजयी गोल गरेको थियो ।
आइभोरी कोस्टलाई विजय दिलाउन दुवै गोल निकोलास पेपेले दुवै हाफमा गरे । यस हारपछि पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ पनि प्रतियोगिताबाट बाहिरएको छ ।





























प्रतिक्रिया