नेदरल्यान्ड्स र युके टुरका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेदरल्यान्ड्स र युके टुरका लागि नेपाली क्रिकेट टोलीको घोषणा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ र त्यसअघि बेलायतमा हुने तयारी भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय मुख्य टोली र ५ जना वैकल्पिक खेलाडीहरूको सूची सार्वजनिक गरेको हो ।

घोषित टोलीको उपकप्तानमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । टोलीको ब्याटिङ सम्हाल्न कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, भीम सार्की र युवा ब्याटर अर्जुन कुमाललाई समावेश गरिएको छ । पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका ईशान पाण्डे र अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारीले पनि मुख्य टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टोलीको अलराउन्ड विभागमा दीपेन्द्र सिंह ऐरीसँगै तीव्र गतिका बलर गुल्शन झा, करण केसी र सोमपाल कामी रहेका छन् । त्यसैगरी स्पिन बलिङतर्फ अनुभवी लेग–स्पिनर सन्दीप लामिछाने र देब्रेहाते स्पिनर ललित राजवंशीले मुख्य टोलीमा स्थान पाएका छन् भने तीव्र गतिका बलर नन्दन यादवले पनि १५ सदस्यीय टोलीमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

मुख्य टोलीसँगै क्यानले ५ जना वैकल्पिक खेलाडीहरूको पनि घोषणा गरेको छ । वैकल्पिक सूचीमा साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा रहेका छन् ।

नेपाली टोलीले सुरुमा बेलायतमा विशेष तयारी भ्रमण गर्नेछ र त्यसपछि नेदरल्यान्ड्स प्रस्थान गरी आइसिसी विश्वकप लिग–२ का महत्त्वपूर्ण खेलहरू खेल्ने तालिका रहेको छ

Logo