गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी र एम्बाप्पे बराबरी, पछ्याउँदै हालान्ड

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी र एम्बाप्पे बराबरी, पछ्याउँदै हालान्ड

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेशसँगै गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।

उनीहरूलाई नर्वेका एर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरले पछ्याइरहेका छन् । फिफा विश्वकपको अन्त्यमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट पुरस्कार प्रदान गरिन्छ । यदि दुई वा सोभन्दा बढी खेलाडीको गोल संख्या बराबर भएमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी विजेता बन्छ ।

गोल र असिस्ट दुवै बराबर भएमा कम समय मैदानमा बिताएर ती उपलब्धि हासिल गर्ने खेलाडीलाई पुरस्कार प्रदान गरिन्छ । हाल फ्रान्सका एम्बाप्पे ६ गोल र २ असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । अर्जेन्टिनाका मेसीले पनि ६ गोल गरेका छन्, तर उनले अहिलेसम्म कुनै असिस्ट दिएका छैनन् ।

नर्वेका एर्लिङ हालान्ड ५ गोलसहित तेस्रो स्थानमा छन् । फ्रान्सकै उस्मान डेम्बेलेले ४ गोल र २ असिस्ट गरेका छन् भने ब्राजिलका भिनिसियस जुनियरले ४ गोल र १ असिस्ट गरेका छन् ।

एम्बाप्पे हालका गोल्डेन बुट विजेता हुन् । उनले कतारमा सम्पन्न सन् २०२२ विश्वकपमा ८ गोल गर्दै यो सम्मान जितेका थिए । हाल विश्वकप खेलिरहेका खेलाडीमध्ये एम्बाप्पेसँगै इंग्ल्यान्डका ह्यारी केन र कोलम्बियाका हामेस रोड्रिगेज दोस्रो पटक गोल्डेन बुट जित्ने लक्ष्यमा छन् ।

केनले सन् २०१८ को रुस विश्वकपमा तथा रोड्रिगेजले सन् २०१४ को ब्राजिल विश्वकपमा सर्वाधिक गोलकर्ताको सम्मान जितेका थिए । विश्वकप इतिहासमा कुनै पनि खेलाडीले एकभन्दा बढी पटक गोल्डेन बुट जित्न सकेको छैन ।

एकै संस्करणको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्टेनको नाममा छ । उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा १३ गोल गरेका थिए । हंगेरीका सान्दोर कोचिसले सन् १९५४ विश्वकपमा ११ गोल गरेका थिए भने पश्चिम जर्मनीका गेर्ड मुलरले सन् १९७० विश्वकपमा १० गोल गरेका थिए ।

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेसी हुन्, जसले १९ गोल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी किलियन एम्बाप्पेका नाममा १८ गोल छन् । जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डोले १५ गोल गरेका छन् । पश्चिम जर्मनीका गेर्ड मुलरले १४ गोल गरेका थिए ।

Logo