एटलान्टा । इंग्ल्यान्डले विश्वकप २०२६ मा त्यो लय हात पार्न सकेको छैन, जुन अपेक्षित थियो। जतिबेला इंग्ल्यान्डले बुधबार अन्तिम ३२ को खेलमा डीआर कंगोको सामना गर्दा टोलीलाई गाह्रो हुन सक्नेछ। कंगो त्यस्तो विपक्षी टिम रहनेछ, जसका विरुद्ध सामान्य भुल पनि महँगो हुने डर छ। थोमस टचेल (तस्बिरमा) को इंग्ल्यान्ड समूह ‘एल’ मा अन्तिममा हराएर जित्न सफल थियो।
यसै कारण धेरै हदसम्म इंग्ल्यान्डका लागि अबको बाटो सहज देखिन्छ। यति हुँदाहुँदै पनि इंग्ल्यान्डले उच्च प्रदर्शन गर्न सकेको छैन। घानाविरुद्ध लिग चरणको दोस्रो खेलमै निराशाजक गोलरहित बराबरीमा टुंगिएको थियो। पानामाविरुद्ध भने जुड बेलिङ्घम र ह्यारी केनले गोल गरेका थिए। तर प्रतियोगिता अगाडि बढ्दै जाँदा अरू खेलाडीबाट पनि गोल अपेक्षित हुनेछ।
क्रोएसियाविरुद्ध पहिलो खेलमा इंग्ल्यान्डको ४–२ को जित भने रोमाञ्चक रह्यो। लिग चरणमा इंग्ल्यान्डको समग्र प्रदर्शनको विशेषता थियो, कल्पनाशीलतामा कमी, आक्रमणमा कमजोर र उपाधिको प्रत्याशीको छवि बनाउन नसक्नु। बुधबार एटलान्टामा हुने नकआउट चरणको खेलमा इंग्ल्यान्डसामु यी सबै समस्या जसरी पनि समाधान गर्नुपर्नेछ।
कंगो भने तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टिममध्ये एकको हैसियत बोकेर दोस्रो चरणसम्म पुगेको हो। लिग चरणमा कंगो एकपल्ट प्रतियोगिताबाट बाहिरिने स्थितिबाट गुज्रिएको थियो। त्यसयता टोलीले राम्रो प्रदर्शन गरेको छ। एटलान्टामै भएको खेलमा कंगोले उज्वेकिस्तानमाथि ३–१ को प्रभावशाली जित निकालेको थियो। यो खेलमा कंगोलाई अघि बढ्न जित अनिवार्य थियो।
सवास्टिन डेसाब्रेको टिमले उज्वेकिस्तानविरुद्ध दुई आक्रमणमा दुई खेलाडी उतारेको थियो। तय छ, इंग्ल्यान्डविरुद्ध उनले पछाडि ५ खेलाडी रक्षापंक्तिमा उतार्ने छ। लिग चरणमा कंगाले यही रणनीति उपयोग गरेर पोर्चुगललाई १–१ को बराबरीमा रोकेको थियो भने कोलम्बियासँग १–० को साँघुरो हार बेहारेको थियो। कंगो यस्तै प्रदर्शन दोहोर्याउने पक्षमा हुनेछ।
इंग्ल्यान्डका लागि मिडफिल्डर डेक्लन राइस फेरि सुरुआती ११ मा फर्किन सक्नेछन्, तर अझै पनि राइट ब्याकलाई लिएर समस्या यथावत् छ। राइस चोटका कारण पानामाविरुद्धको खेलमा देखिएनन्। टिमले सक्दो बढी सटिक आक्रमण बुन्नुपर्नेछ। कंगोका लागि अहिलेसम्मको प्रदर्शन नै एक प्रकारले सफलता मान्न सकिन्छ।
यस्तो किनभन्दा यसअघिको एक्लो विश्वकप सहभागितामा यो देश लिग चरणमै रोकिएको थियो। त्यतिबेला सन् १९७४ को विश्वकपमा टोलीले जायरको नाममा खेलेको थियो र पहिलो अनुभव सुखद रहेन। जायरले त्यति बेला एकै गोल पनि गर्न सकेन र उल्टै १४ गोल खाएको थियो। युगोस्लाभियाविरुद्धको खेलमा ९ गोल खाएको थियो। विश्वकप छनोटमा भने कंगोले जमैकाको चुनौती पन्छाएको थियो।
अर्कोतर्फ इंग्ल्यान्डलाई त्यस्तो टिम मानिएको छ, जसले यस विश्वकपमा लामै दूरी तय गर्ने मानिएको छ। इंग्ल्यान्ड ६० वर्षयता पहिलो ठूलो उपाधि जित्ने अभियानमा छ। त्यसलाई साकार पार्ने हो भने कम्तीमा अहिलेका लागि कंगोविरुद्ध सुदृढ खेल प्रदर्शन गर्नुपर्ने हुन्छ। यो खेलको विजेताले अन्तिम १६ मा मेक्सिको र इक्वडेरबीच हुने खेलको विजेताको सामना गर्नेछ।































