चुपचाप उपयोगिता सिद्ध गर्दै कप्तान ह्यारी केन

चुपचाप उपयोगिता सिद्ध गर्दै कप्तान ह्यारी केन

केन्द्रबिन्दु
12
Shares

एटलान्टा । ह्यारी केनले फेरि एकपल्ट इंग्ल्यान्डका लागि त्यस्तो खेल प्रदर्शन गरेका छन्, जस्तो टिमलाई आवश्यकता थियो। उनका टिम सहकर्मीलाई उनी कति उपयोगी छन्, त्यसमा कहिल्यै शंका रहेन।

विश्वकप २०२६ को बुधबारको खेलमा यही इंग्ल्यान्ड डीआर कंगोविरुद्ध ७५ मिनेटको खेलसम्म एक गोलले पछाडि थियो। टोली अन्तिम ३२ को प्रतिस्पर्धामा चर्को दबाबमा देखिएको थियो। ठीक त्यही बेला केनको नायकत्व देखियो।

जति बेला लियोनल मेसी र केलियन एमबाप्पे सबै खाले समाचारको शीर्षकमा रहेका बेला केनले आफू पनि कम्तीको छैन भनेर प्रमाणित गरेका छन्। कुरा के रह्यो भने केनले जे गरिरहेका छन्, चुपचाप गरिरहेका छन्। यी ६ फुट २ इञ्च अग्ला खेलाडी दुई गोल गरेपछि इंग्ल्यान्ड अन्तिम १६ मा पुगेको छ। अब इंग्ल्यान्डको प्रतिद्वन्द्वी हुनेछ, मेक्सिको। यो खेल हुनेछ, मेक्सिको सिटीमै।

अहिलेको जितपछि केनले माने, प्रशिक्षणमा लगातारको मिहिनेतले नै यस्तो प्रदर्शन सम्भव हुन्छ। उनले भने, ‘पछाडि पछाडि मिहिनेत गर्नुपर्ने भनेकै यस्तै अवसरका लागि हो। मैदानबाहिर लगातार आफ्नो स्थिति अनुकूल बनाउन मिहिनेत गरिरहनुपर्छ। लियोनल मेसीले अहिलेसम्म पनि उस्तै राम्रो खेलिरहेको यस्तै कारण त हो।’

यता कंगोले सक्दो खेले पनि त्यो पर्याप्त रहेन। टोलीका लागि विश्वकपमा यहाँसम्मको यात्रा पनि उपलब्धिमूलक रह्यो। अब यो टिम शिर ठाडो गरेर नै स्वदेश फर्किने छ। केनको दुवै गोलमा सहयोगी भूमिका खेल्ने खेलाडी रहेन, एन्थोनी गोर्डन। उनले खेलपछि भने, ‘मलाई कंगोले हामीलाई हराउने छ भन्ने कहिले पनि लागेन। हामी जित्छौं नै भन्ने लाग्थ्यो। यसका कारण मैदानमा आफ्नै खेलाडीमाथि विश्वास भएर हो। हामी जितकै लागि खेल्छौं र यसकै लागि कडा मिहिनेत पनि गर्छौं। हाम्रो प्रदर्शनकै कारण कंगोका खेलाडी खेलको अन्त्यतिर थाकिसकेका थिए।’

यस विश्वकपमा केनले गरेको गोलसंख्या पनि ५ पुगिसकेको छ। विश्वकपमै समग्रमा उनको गोलसंख्या १३ पुगेको छ। यस्तोमा उनी विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी भइसकेका छन्। गोर्डनले थपे, ‘जति बेला केनले दुवै अवसरमा गोलका लागि प्रहार गरे, त्यसअघि नै मैले खुसी मनाउन थालिसकेको थिएँ।’

केनमाथि उनको विश्वास यस्तो थियो। व्यावसायिक फुटबल खेल्न सुरु गरेको १६ वर्षपछि केन यति बेला सबैभन्दा बढी आत्मविश्वासी देखिएका छन्। उनी यस खेलको लयलाई मेक्सिकोविरुद्ध पनि दोहोर्‍याउन चाहन्छन् र टिमलाई थप एक पाइला अगाडि पुर्‍याउन चाहन्छन्। उनी भन्छन्, ‘अहिले म राम्रो महसुस गरिरहेको छु। जतिबेला मैदानमा प्रवेश गर्नु गर्छु, मलाई थाहा छ, मेरो भूमिका के हो भनेर। मलाई के विश्वास छ भने मैले भूमिकालाई न्याय गर्न सक्छु भनेर। यो जितमा पनि त्यही भएको हो।’

Skip This
Skip This
Logo