काठमाडौं । फिफा विश्वकपको अन्तिम १६ को सबैभन्दा प्रतीक्षित खेलमा सोमबार बिहान पाँचपटकको विश्व च्याम्पियन ब्राजिल र युरोपेली ‘सरप्राइज प्याकेज’ नर्वे एकअर्काविरुद्ध आमनेसामने हुँदैछन् ।
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने यो महा–भिडन्त नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ । आज रातीको खेलमा मैदानभित्रको रणनीतिसँगै आधुनिक फुटबलका दुई समकालिन सुपरस्टार ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डबीचको गोलको संख्यामा केन्द्रित हुने छ ।
किनकी नर्वेका हालान्ड ५ गोलसहित गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा छन् भने अर्कोतिर, भिनिसियस जुनियरले ब्राजिलका लागि समूहगत चरणका तीनै खेलमा गोल गर्दै जर्जिन्हो, रोमारियो, रोनाल्डो र रिभाल्डोपछि यो कीर्तिमान बनाउने पाँचौं ब्राजिलियन खेलाडी बनेका छन् ।
एन्सेलोटीको विश्वास र आफ्नो तीव्र गतिले अहिले भिनिसियस ब्राजिलको मुख्य हतियार बनेका छन् । त्यति मात्र होइन यो खेलको सबभन्दा रोचक द्वन्द्व भने आर्सनलका डिफेन्डर ग्याब्रियल मागालहस र म्यानचेस्टर सिटीका हालान्डबीच हुनेछ । प्रिमियर लिगमा ग्याब्रियलविरुद्ध हालान्डले ६ गोल गरिसकेका छन्, जसले ब्राजिलियन रक्षापंक्तिलाई अझै सतर्कता अपनाउन बाध्य पारेको छ । लुकास पाक्वेटाको सामान्य चोटले एन्सेलोटीलाई केही चिन्ता थपे पनि राफिन्हाको पुनरागमनले केही आशा जगाएको छ ।
पाँचपटकको विश्वविजेता ब्राजिलले हालसम्म भएका चार भेटमा नर्वेविरुद्ध कहिल्यै पनि जित निकालेको छैन । नर्वेले दुई खेल जित्दा दुई खेल भने बराबरीमा टुंगिएका छन् । विश्वकपमै भएको एकमात्र भिडन्त सन् १९९८ को समूहगत चरणको खेलमा नर्वेले ब्राजिललाई २–१ ले स्तब्ध बनाएको थियो । त्यो ऐतिहासिक नतिजा निस्केको २८ वर्षपछि नकआउट चरणमा पुगेको स्कान्डिनेभियन टोलीको मनोबल आकासिएको छ भने ब्राजिल आफ्नो पहिलो जितको प्रतीक्षामा हुनेछ । किनकी यसपटक भने ब्राजिलको समीकरण बेग्लै छ ।
प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमार पूर्ण फिट रहेको र भरपर्दो लयमा रहेको संकेत दिएका छन् । मोरक्कोसँग १–१ को बराबरीपछि ब्राजिलले हाइटी र स्कटल्यान्डलाई समान ३–० ले पराजित गर्दै लय समात्न सफल भयो भने अन्तिम ३२ मा जापानलाई २–१ ले रोक्ने क्रममा ग्याब्रियल मार्टिनेलीले ९५औं मिनेटमा गरेको गोल विश्वकप नकआउट चरण इतिहासकै सबैभन्दा ढिलो निर्णायक गोल बनेको छ ।






























