विश्वकपमा ब्राजिलको हारसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

विश्वकपमा ब्राजिलको हारसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। गएराति भएको फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा नर्वेसँग २-१ को हारसँगै ३४ वर्षीय नेयमारले ब्राजिलको राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग ब्राजिल २-१ ले पराजित भएपछि नेयमार निकै भावुक भएका थिए। पराजयपछि भावुक हुँदै उनले भने, ‘मैले धेरै प्रयास गरें। मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो। अब सबै सकियो।’

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सीमा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले ब्राजिलविरुद्ध दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए। नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत १ गोल गरे। तर, त्यो ब्राजिलको जितका लागि पर्याप्त भएन।

घाइते अवस्थाबाट भर्खरै खेलमा फर्किएका नेयमारले जारी विश्वकपमा पूर्णरूपमा आफ्नो खेल प्रदर्शन गर्न सकेका थिएनन्। चोटकै कारण नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए।

पछिल्लोसमय बिस्तारै टोलीमा पुनरागमन गरे पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा रहे। नेयमार स्कटल्यान्ड र नर्वेविरुद्ध वैकल्पिक खेलाडीकै रुपमा मैदान प्रवेश गरेका थिए।

ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत गरे। नेयमारले सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका थिए। अन्तर्राष्ट्रिय खेल जीवनमा नेयमारले १२९ अन्तर्राष्ट्रिय खेल खेले। त्यसमा उनी ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने।

उनले योसँगै चार संस्करणको फिफा विश्वकप खेले। तर, उनले ब्राजिलका लागि विश्वकपको उपाधि जित्न भने सकेनन्। नेयमारले पहिलो विश्वकप खेल पनि न्युजर्सी रंगशालामै खेलेका थिए। उनले दुई ओलम्पिकमा सहभागिता जनाए। २०१२ मा रजत तथा २०१६ मा उनले टोलीको नेतृत्व गरेर ब्राजिललाई स्वर्ण पदक दिलाएका थिए।

Logo