लस एन्जल्स । बेल्जियम शनिबार बिहान विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्पेनसँग २–१ ले पराजित भई प्रमुख प्रतियोगिताको उपाधिबाट बिमुख भए पनि टोलीका गोलरक्षक थिबाउट कोर्टोवाले ‘स्वर्णिम पुस्ता’ मा आफुलाई गर्व रहेको जनाएका छन् ।
खेल दौरान कोर्टोवा घाइते भएर बेन्चमा पुगेका थिए, जहाँ उनीसहित भेट्रान सहपाठीहरु केभिन डी ब्रुएना र रोमेलु लुकाकुको विश्वकप यात्राको अन्त्य भएको थियो । केही उत्कृष्ट बचाउ गरेका कोर्टोवा ७१ औं मिनेटमा चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । उनको स्थान सेन लामेन्सले लिएको थिए ।
गत सिजन म्यानचेस्टर युनाइटेडबाट उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउन प्रमुख भूमिका खेलेका लामेन्सको गल्तीमा बेल्जियमले हार बेहोर्नु पर्यो । ८८ औं मिनेटमा पाउ कुबार्सीले २५ यार्ड टाढाबाट गरेको प्रहार लामेन्सले नियन्त्रणमा लिन सकेनन र रिबाउन्डमा मिकेल मेरिनोले पुन एक पटक निर्णायक गोल गरे । पोर्चुगलविरुद्धको अघिल्लो खेलमा पनि एकमात्र गोल गरेका मेरिनोले मैदानमा प्रवेश गरेको २ मिनेट नबित्दै स्पेनबाट अर्को निर्णायक गोल गरे ।
सन् २०१० मा दक्षिण अफ्रिकामा आफ्नो एकमात्र विश्वकप जितेयता स्पेन पहिलो पटक सेमिफाइनल पुगेको हो । २०१४ मा टोली समूहचरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ मा पुगेर रोकिएको थियो । युरोपीयन च्याम्पियन स्पेनले मंगलबार डालासमा हुने सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ । फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गरेको थियो ।
बेल्जियमका ‘स्वर्णिम पुस्ता’ का रियल म्याड्रिडका गोलरक्षक कोर्टोवा ३४, डी ब्रुएना ३५ र लुकाकु ३३ वर्षका भइसके । उनीहरुसहित एडेन हजार्ड, भिन्सेन्ट कोम्पनी र मारोउनी फेलानीसँगैं खेल्दा बेल्जियम धेरै पटक फिफा विश्व वरीयतामा शीर्ष स्थानमा रहेको थियो भने २०१८ को विश्वकपमा तेस्रो भएको थियो । विश्वकप इतिहासमा बेल्जियमको यो उत्कृष्ट प्रदर्शन पनि हो ।
तर सोफी रंगशालामा लामेन्सले अक्षम्य गल्ती गरेपछि बेल्जियमको पुरानै कथा दोहोरिएको थियो । ‘स्वर्णिम पुस्ता हुनका लागि तपाईले केही स्वर्ण जितेको हुनुपर्छ र त्यसपछि मात्र तपाईले त्यसरी सम्बोधन गर्न सकिन्छ,’ एक कमेन्टेटर बेल्जियमको बारेमा भन्दै थिए । तर कोर्टोवाले हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेल्जियमको आफ्नो पुस्ताले गर्व गर्न लायक प्रदर्शन गरेको बताए ।
उनले त्यसमा २०१८ को विश्वकप र २०२१ को युरोपीयन च्याम्पियनसिपलाई इंगित गरेका थिए । ‘ठुला प्रतियोगिताहरुमा हामीले सँधैं राम्रो गरेका छौं,’ कोर्टोवाले भने, ‘हामीले आजसम्म जे उपलब्धि हासिल गर्यौ त्यसमा गर्व गर्छौं । निश्चय पनि स्वर्णिम पुस्ताले केही जित्न सकेन भनेर धेरै आलोचना सुन्दै आएका पनि छौं,’ कोर्टोवाले भने, ‘तर हामी बेल्जियम हौं, हामी इंग्ल्यान्ड होइनौं, स्पेन र फ्रान्स पनि होइनौं, हाम्रो देश सानो छ र जनसंख्या १ करोड २० लाख पनि छैन । तर हामीले आश्चार्यजनक प्रर्दशन देखाइरहेका छौं ।’
उनले अगाडी भने, ‘२०१८ को विश्वकपमा हामीले उत्कृष्ट फुटबल खेलिरहेका थियौं, त्यसमा हामीले गर्व गर्न पर्छ । तिमीहरुले केहि जितेनौ भन्दै आलोचना गर्न र केही भन्न निकै सजिलो छ । तर ठुला भनिएका टोलीहरु नै हेरौं, सबैले ठुला प्रतियोगिता जित्दैनन् । हामीले आफ्नो प्रयास गरेका थियौं, यसैमा हामीले गर्व गर्न पर्छ ।’
स्पेनसँगको खेलमा उत्रिदा बेल्जियमको धेरै खेलाडी ३० वर्ष माथिका थिए । त्यसैले उनीहरु अर्को विश्वकपमा नदेखिन पनि सक्छन् । तर बेल्जियमले भविष्यमा निरन्तर युवा खेलाडी उत्पादन गर्नेमा कोर्टोवा विश्वस्त थिए । ‘हाम्रो धेरै राम्रा युवा एकेडेमीहरु राम्रोसँग सञ्चानल भइरहेको छ, युवा खेलाडीहरु आइरहेका छन्, अहिले जो युवा छन् उनीहरु अर्को वर्ष अझ राम्रा र बलियो भएर आउने छन्,’ कोर्टोवाले भने, ‘युरोपीयन च्याम्पियनसिप वा विश्वकपमा हाम्रो टोली बलियो हुने मैले आशा लिएको छु । मलाई लाग्छ हामीसँग त्यो एकता छ ।’
बेल्जिययको यस टोलीले नै हो स्पेनको जब्बर रक्षापंक्तिलाई यस विश्वकपमा पहिलो पटक चिर्न सफल भयो । बेल्जियमसँगको खेल अघि स्पेनले प्रतियोगिताका ५ खेलमा कुनै गोल खर्चेको थिएन र केवल ६ पटकमात्र पोष्ट आक्रमण झेलेको थियो । मध्यान्तर हुनु चार मिनेट अगाडि चार्ल्स डे केटेलाइरले हेडमा गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याएका थिए । स्पेनले यस विश्वकपमा ६ सय ४९ मिनेटपछि खर्चेको यो पहिलो गोल थियो ।




















