फिफा विश्वकपः ९६ वर्ष लामो इतिहासमा तेस्रोपटक सेमिफाइनल पुगेका चारै टोली पूर्व विश्वविजेता !

फिफा विश्वकपः ९६ वर्ष लामो इतिहासमा तेस्रोपटक सेमिफाइनल पुगेका चारै टोली पूर्व विश्वविजेता !

फ्रान्स भर्सेस स्पेन, अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: को बलियो ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल समीकरण पूरा भएको छ। सुरुवाती ४८ टोलीमध्ये अब केवल चार महाशक्तिहरू फ्रान्स, स्पेन, इङ्गल्यान्ड र अर्जेन्टिना मात्र उपाधि होडमा बाँकी रहेका छन्। विश्वकपको इतिहासमा फिफा वरीयताको शीर्ष स्थानमा रहेका चारवटै टोली सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो।

फिफाले ४८ टोलीको विस्तारित ढाँचालाई ध्यानमा राख्दै यस पटक ‘ड्र’मा विशेष परिवर्तन गरेको थियो। शीर्ष चार वरीयताका टोलीहरू सेमिफाइनलअघि नै आपसमा नभिडुन् भन्नका लागि उनीहरूलाई छुट्टाछुट्टै स्थानमा राखिएको थियो। यो नियम सफल हुनका लागि सबै टोलीले आ-आफ्नो समूह जित्नुपर्ने हुन्थ्यो, जसमा फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्गल्यान्ड सबै सफल भए।

नेपाली समय अनुसार बुधवार बिहान डालसमा हुने पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन्। फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोको कडा चुनौतीलाई २-० ले समाप्त पार्दै लगातार तेस्रो पटक सेमिफाइनलमा यात्रा तय गरेको हो।

फ्रान्सेली टोलीका लागि स्टार स्ट्राइकर किलियन एम्बाप्पे उत्कृष्ट लयमा छन् भने माइकल ओलिसे र उस्मान डेम्बेलेले उनलाई बलियो साथ दिइरहेका छन्।

अर्कोतर्फ, स्पेनले बेल्जियमलाई २-१ को रोमान्चक खेलमा पराजित गर्दै २०१० को उपाधि जित यात्रापछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो। स्पेनका १६ वर्षीय युवा सनसनी लामिन यामाल र लगातार दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर निर्णायक गोल गरेका मिकेल मेरिनो टोलीका मुख्य हतियार हुनेछन्।

३५ पटक आमनेसामने भइसकेका दुई चिरपरिचित प्रतिद्वन्द्वी फ्रान्स र स्पेनबीचको यो भिडन्त फ्रान्सेली टोलीका लागि निकै प्रतिष्ठाको विषय बनेको छ, किनकि हालैका ठूला युरोपेली मञ्चहरूमा स्पेनले नै फ्रान्सको यात्रामा पूर्णविराम लगाइदिएको थियो। सन् २०२४ को युरो कप सेमिफाइनलमा २-१ को पराजय तथा २०२५ को नेसन्स लिगमा ५-४ को स्तब्धपूर्ण हारको बदला लिने उपयुक्त मौका फ्रान्सलाई मिलेको छ।

विश्वकपको इतिहासमा यी दुई टोली केवल दोस्रो पटक भिड्न लागेका हुन्। यसअघि सन् २००६ को विश्वकपमा जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सले स्पेनलाई ३-१ ले पाखा लगाएको थियो। युरोपियन च्याम्पियनसिपमा भने दुवैको कीर्तिमान बराबरी जस्तै छ, जसमा ऐतिहासिक रूपमा फ्रान्सले १९८४ को फाइनल जितेको थियो भने स्पेनले २०१२ मा बाजी मारेको थाहा पाइन्छ। वर्तमान विश्वकपमा फ्रान्स ६ खेलमा ६ वटै जित निकाल्दै निकै आक्रामक रूपमा प्रस्तुत भएको छ।

प्रतियोगिताको ‘राउन्ड अफ १६’ मा मोरक्कोले क्यानडालाई ३-० ले तथा फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेका थिए। यस्तै, बेल्जियमले युएसएलाई ४-१ को फराकिलो अन्तरले हराएको थियो भने स्पेनले पोर्चुगलमाथि १-० को कठिन जित निकालेको थियो।

त्यस्तै, नेपाली समय अनुसार बिहीबार बिहान हुने दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्गल्यान्डबीच महाभिडन्त हुनेछ। इङ्गल्यान्डले क्वाटरफाइनलमा नर्वेविरुद्ध १-० ले पछि परेको स्थिति उल्ट्याउँदै २-१ को जित दर्ता गरेको थियो। इङ्गल्यान्डका लागि कप्तान ह्यारी केनसँगै ६ गोल गरिसकेका युवा मिडफिल्डर जुड बेलिङ्घम गोल्डेन बुटको दौडमा अगाडि छन्।

अर्कोतर्फ, साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पन्छाउँदै लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्य राखेको छ। अर्जेन्टिनाका भेट्रान कप्तान लियोनेल मेस्सीले ६ खेलमा ८ गोल गर्दै टोलीको नेतृत्व गरिरहेका छन् भने जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले उनलाई उत्कृष्ट साथ दिइरहेका छन्।

इङ्गल्यान्ड र अर्जेन्टिनाबीचको याे सेमिफाइनल भिडन्त खेलभन्दा बढी भावनात्मक र ऐतिहासिक तनावले भरिएको हुने निश्चित छ। यी दुई राष्ट्रबीचको फुटबल प्रतिद्वन्द्विता दशकौँ पुरानो छ, जसमा खेल मैदान बाहिरको राष्ट्रिय गौरव र इतिहास जोडिएको पाइन्छ। सन् १९८६ को मेक्सिको विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र ‘शताब्दीकै उत्कृष्ट गोल’ को मद्दतले अर्जेन्टिनाले इङ्गल्यान्डलाई पाखा लगाएको क्षण आज पनि फुटबल इतिहासकै सबैभन्दा बढी चर्चित छ। त्यसको चार वर्षपछि १९९० को विश्वकपमा पनि अर्जेन्टिनाले नै पेनाल्टी सुटआउटमा इङ्गल्यान्डको सपना चकनाचुर पारेको थियो।

प्रतियोगिताको ‘राउन्ड अफ १६’ मा नर्वेले ब्राजिललाई २-१ ले स्तब्ध पार्दा इङ्गल्यान्डले मेक्सिकोलाई ३-२ ले पाखा लगाएको थियो। स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पाखा लगाउँदा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको थियो।

विश्वकपको ९६ वर्ष लामो इतिहासमा सेमिफाइनल पुगेका चारै टोली पूर्व विश्वविजेता बनेको यो केवल तेस्रो पटक हो। यसअघि सन् १९७० र १९९० को विश्वकपमा मात्र यस्तो दुर्लभ संयोग जुरेको थियो। यी चार राष्ट्रले कुल मिलाएर ७ पटक विश्वकपको उपाधि जितिसकेका छन्। अर्जेन्टिनाले सर्वाधिक ३ पटक, फ्रान्सले २ पटक तथा स्पेन र इङ्गल्यान्डले १–१ पटक ट्रफी उचालेका छन्। इङ्गल्यान्ड सन् १९६६ पछि आफ्नो पहिलो उपाधिको खोजीमा छ।

खेलकुद तथ्याङ्क विश्लेषक संस्था ‘अप्टा’को सुपरकम्प्युटरका अनुसार यस पटक फ्रान्स विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदार देखिएको छ। सुपरकम्प्युटरले फ्रान्स फाइनलमा पुग्ने सम्भावना ५७.७० प्रतिशत र उपाधि जित्ने सम्भावना ३४.०५ प्रतिशत प्रक्षेपण गरेको छ । यस सूचीमा स्पेन दोस्रो, इङ्गल्यान्ड तेस्रो र साविक विजेता अर्जेन्टिना चौथो स्थानमा रहेका छन्। आगामी जुलाई १९ मा हुने फाइनल खेलसँगै विश्वकप २०२६ को नयाँ विश्वविजेताको टुङ्गो लाग्नेछ।

Logo