तेस्रो स्थानको खेलले निर्णय गर्नेछ विश्वकपको ‘गोल्डेन बुट’ विजेता

तेस्रो स्थानको खेलले निर्णय गर्नेछ विश्वकपको ‘गोल्डेन बुट’ विजेता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। फिफा विश्वकपको तेस्रो स्थानका लागि हुने प्लेअफमा गरिएका गोल पनि खेलाडीको कुल गोल संख्यामा गणना हुने भएकाले विश्वकप २०२६ को गोल्डेन बुट जित्ने दौड अझ रोमाञ्चक बनेको छ।

यसका कारण फ्रान्सका किलियन एमबाप्पे र उस्मान डेम्बेले तथा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङमले सेमिफाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन्।

हालसम्म अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एम्बाप्पे समान आठ–आठ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा एक असिस्ट बढी भएका कारण मेसी अहिले गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्।

नर्वेका एर्लिङ हालान्ड सात गोलसहित तेस्रो स्थानमा छन्। तर नर्वे क्वार्टरफाइनलबाट बाहिरिसकेकाले उनले आफ्नो गोल संख्या बढाउन पाउने छैनन्। इंग्ल्यान्डका बेलिङहम र केनले समान छ–छ गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा पाँच–पाँच गोल छ।

शनिबार हुने तेस्रो स्थानको खेलमा इंग्ल्यान्ड र फ्रान्स आमनेसामने हुँदैछन्। यस खेलमा दुवै टोलीले कस्तो टोली उतार्छन् भन्ने कुराले गोल्डेन बुटको विजेता निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

सन् २०१८ को विश्वकपमा बेल्जियमविरुद्धको तेस्रो स्थानको खेलमा तत्कालीन इंग्ल्यान्ड प्रशिक्षक गारेथ साउथगेटले सेमिफाइनल खेलेको टोलीमा पाँच परिवर्तन गरेका थिए। त्यसबेला गोल्डेन बुट विजेता बनेका ह्यारी केन मैदानमा उत्रिए पनि गोल गर्न सकेका थिएनन्।

विश्वकप इतिहासमा सात जना गोल्डेन बुट विजेताले तेस्रो स्थानको खेलमा पनि गोल गरेका छन्। तीमध्ये चार जनाले उक्त खेलमा गरेको गोलकै कारण गोल्डेन बुट जितेका थिए। जर्मनीका थोमस मुलर, क्रोएसियाका डाभोर सुकर, इटलीका साल्भाटोरे स्किलाची, पोल्यान्डका ग्रेजगोर्ज लाटो पोल्यान्ड, पोर्चुगलका युसेबियो,
फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका लियोनिडासले तेस्रो स्थानका लागि भएको खेलमा गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

अब शनिबारको तेस्रो स्थानको खेल र आइतबार हुने फाइनलले विश्वकप २०२६ को गोल्डेन बुट कसले जित्ने भन्ने अन्तिम निर्णय गर्नेछ।

Logo