काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, इलाम, अर्घाखाँचीलगायत जिल्लाका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएका छन् ।
मकवानपुरको कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार साँझ ७ बजे मकवानपुर बकैया गाउँपालिका–११, घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू बीपी राजमार्गमा सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । बीपी राजमार्गमा आउने सम्भावित बाढीलाई मध्यनजर गर्दै जेठ २२ गते बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको छ ।
बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सम्पूर्ण सवारी साधन सुचारु हुनेछन् । मकवानपुर कान्ति लोकपथमा वर्षाका कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ । असार १८ गते बेलुका १७ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको छ ।
इलामस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । असार २३ गतेबाट इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । यो सडकखण्डको भने वैकल्पिक बाटो रहेको प्रहरीले बताएको छ ।
अर्घाखाँची सालझन्डी–ढोरपाटन सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । असार २८ गते पाणिनी गाउँपालिका–२, ढुंगेखोलास्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ । असार ३१ गते भोटेकोसी गाउँपालिका–४, जिरोकिलो अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
































