म्यानमारको तटनजिकै डुंगा दुर्घटना, ५०० भन्दा बढी शरणार्थीको मृत्यु

म्यानमारको तटनजिकै डुंगा दुर्घटना, ५०० भन्दा बढी शरणार्थीको मृत्यु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । म्यानमारको तटनजिकै शरणार्थी बोकेका दुईवटा डुंगा डुबेको आशंका गरिएको छ । उक्त दुई डुंगामा ५०० भन्दा बढी मानिस रहेको र तिनको मृत्यु भएको हुन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय बसाइँसराई संगठन र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले संयुक्त विज्ञप्ति जारी गर्दै प्रारम्भिक जानकारीका आधारमा दुवै डुंगा जुन महिनाको अन्त्यतिर म्यानमारको रखाइन राज्यबाट प्रस्थान गरेको र त्यसमा सवार अधिकांश यात्रु रोहिंग्या समुदायका रहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका एजेन्सीहरूका अनुसार करिब २५० जना सवार पहिलो डुंगा यात्रा सुरु गरेको केही समयपछि सम्पर्कविहीन भएको थियो । करिब २८० जना यात्रु बोकेको दोस्रो डुंगा जुलाई ८ मा डुबेको आशंका गरिएको छ ।

एजेन्सीहरूले यस वर्ष मात्रै बंगालको खाडी र अन्डमान सागर क्षेत्रमा रोहिंग्या शरणार्थी तथा बंगलादेशी नागरिकसहित करिब ३०० जना बेपत्ता भएको वा मृत्यु भएको विवरण प्राप्त भएको बताएका छन् ।

सन् २०१७ मा म्यानमारको सेनाले रखाइन राज्यमा व्यापक सैन्य अभियान सञ्चालन गरेपछि अल्पसंख्यक रोहिंग्या समुदायको ठूलो संख्यामा पलायन सुरु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यसयता सात लाखभन्दा बढी रोहिंग्याले छिमेकी बंगलादेशमा शरण लिएका छन् ।

म्यानमार सरकारले रोहिंग्या समुदायमाथि दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आएको छ । तर, उनीहरूलाई देशको नागरिकका रूपमा मान्यता दिन भने अझै अस्वीकार गर्दै आएको छ । डीडब्ल्यू

Logo