काठमाडौं । अमेरिकी स्वतन्त्र अनुसन्धान संस्था प्यु रिसर्च सेन्टरको नयाँ अध्ययनले विश्वका धेरै देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा राख्ने मानिसहरूको संख्या बढी रहेको जनाएको छ ।
प्युले सन् २००२ देखि महाशक्ति राष्ट्रहरूप्रतिको विश्वव्यापी धारणा अध्ययन गर्दै आएको भए पनि यस्तो नतिजा पहिलोपटक सार्वजनिक भएको बताइएको छ । अध्ययनअनुसार धेरै देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण ऐतिहासिक रूपमा उच्च तहमा पुगेको छ भने अमेरिकाप्रतिको धारणा खस्किएको छ ।
सर्वेक्षणमा सहभागी अधिकांशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैप्रति सीमित भरोसा व्यक्त गरेका छन् । तर, धेरै देशमा ट्रम्पको तुलनामा सीप्रति बढी विश्वास देखिएको अध्ययनले जनाएको छ । यद्यपि, व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने विषयमा भने अध्ययनका सहभागीहरूले चीनभन्दा अमेरिकालाई अघि राखेका छन् । अर्कोतर्फ, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति अमेरिकामा चीनभन्दा बढी रहेको धारणा व्यक्त गरिएको छ ।
प्युले फेब्रुअरीदेखि मे महिनासम्म ३६ देशका ४२ हजारभन्दा बढी व्यक्तिमाझ यो सर्वेक्षण गरेको थियो । सहभागीहरूलाई अमेरिका र चीनप्रति आफ्नो धारणा ‘निकै सकारात्मक’, ‘केही सकारात्मक’, ‘केही नकारात्मक’ वा ‘निकै नकारात्मक’ मध्ये कुन हो भन्ने प्रश्न सोधिएको थियो । अध्ययनअनुसार ३६ मध्ये २५ देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा राख्नेको संख्या बढी रहेको पाइएको छ । प्युका अनुसन्धानकर्ता जोनाथन शुलम्यानका अनुसार, सन् २००२ यता यस्तो नतिजा पहिलोपटक देखिएको बताइएको छ ।
प्युले यसअघि पनि सन् २००८ मा जर्ज डब्लु बुस प्रशासनको अन्त्यतिर र सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालको सुरुआतमा अमेरिकाप्रतिको सकारात्मक धारणा घटेको देखेको थियो । तर, त्यसबेला पनि चीनप्रतिको सकारात्मक धारणा अमेरिकाको बराबरी वा केही कम हुने गरेको शुलम्यानले बीबीसीलाई बताएका छन् ।
यसपटक स्पेन, इन्डोनेसिया, इटाली, ग्रीस र क्यानडामा चीनप्रतिको सकारात्मक धारणा उल्लेखनीय रूपमा बढेको देखिएको छ । सर्वेक्षणअनुसार अहिले पोल्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायल गरी केवल ६ देशमा मात्र अमेरिकाप्रति चीनभन्दा बढी सकारात्मक धारणा रहेको छ । यीमध्ये अधिकांश अमेरिकानिकट सहयोगी राष्ट्र हुन् ।
अध्ययनले २० देशमा अमेरिकाप्रतिको औसत सकारात्मक धारणा लगातार घट्दै गएको र चीनप्रतिको धारणा बढ्दै गएको देखाएको छ । विस्तारित तथ्यांकको विश्लेषणअनुसार हालका वर्षहरूमा सर्वेक्षण गरिएका एकतिहाइभन्दा बढी देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण बढेको छ । यस वर्ष इटाली, स्पेन, कोलम्बिया, मेक्सिको, इन्डोनेसिया, मलेसिया, नाइजेरिया र टर्कीमा चीनप्रतिको सकारात्मक धारणा रेकर्डस्तरमा पुगेको पाइएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, मध्यम आय भएका देशहरू चीनप्रति बढी सकारात्मक देखिएका छन् । उच्च आय भएका देशहरूमा चीनप्रति अपेक्षाकृत नकारात्मक धारणा पाइएको बताइएको छ । यसको अपवाद सिंगापुर रहेको अध्ययनले उल्लेख गरेको छ । सर्वेक्षण गरिएका देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको सिंगापुरमा चीनप्रति सकारात्मक धारणा उच्च देखिएको छ ।
यसैबीच एसिया–प्रशान्त क्षेत्रमा चीनप्रतिको धारणा सबैभन्दा बढी विभाजित देखिएको छ । पाकिस्तानका करिब ९० प्रतिशत उत्तरदाताले चीनप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । जापानमा केवल ११ प्रतिशतले मात्र चीनलाई सकारात्मक रूपमा हेरेका छन् ।
सर्वेक्षणमा सहभागीहरूलाई विश्वव्यापी मामिलामा सही निर्णय लिन सी चिनफिङ र डोनाल्ड ट्रम्पमाथि कत्तिको भरोसा छ भन्ने प्रश्न पनि सोधिएको थियो । समग्रमा दुवै नेताप्रतिको विश्वासको स्तर ५० प्रतिशतभन्दा कम रहे पनि धेरै देशमा ट्रम्पको तुलनामा सीप्रति बढी भरोसा व्यक्त गरिएको छ । सीप्रति सबैभन्दा बढी विश्वास पाकिस्तानमा (८३ प्रतिशत) र सबैभन्दा कम जापानमा (७ प्रतिशत) देखिएको छ । ट्रम्पप्रति सबैभन्दा बढी विश्वास फिलिपिन्समा (६८ प्रतिशत) र सबैभन्दा कम वेस्ट बैंक तथा पूर्वी जेरुसेलममा (४ प्रतिशत) रहेको अध्ययनले जनाएको छ ।
अनुसन्धानकर्ता शुलम्यानका अनुसार, सीप्रति मानिसहरूले सामान्यतया अत्यन्तै सकारात्मक वा अत्यन्तै नकारात्मक धारणा कम व्यक्त गर्ने गरेका छन् । तर, ट्रम्पका विषयमा भने उत्तरहरू धेरै ध्रुवीकृत देखिएका छन् । अध्ययनले अमेरिकी सरकारले आफ्ना नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान चीनभन्दा बढी गर्ने विश्वास अझै पनि कायम रहेको देखाएको छ । तर, दुवै देशबीचको यो अन्तर अघिल्ला वर्षहरूको तुलनामा साँघुरिएको बताइएको छ ।
परराष्ट्र नीतिसम्बन्धी प्रश्नमा सर्वेक्षण गरिएका धेरै मध्यम आय भएका देशमा औसत ७५ प्रतिशत सहभागीहरूले अमेरिकाले अन्य देशको आन्तरिक मामिलामा धेरै वा निकै धेरै हस्तक्षेप गर्ने गरेको बताएका छन् । चीनका हकमा भने यस्तो धारणा व्यक्त गर्नेको अनुपात ४५ प्रतिशत रहेको बताइएको छ ।
सर्वेक्षण संस्था ग्यालुपले गत वर्ष विश्वव्यापी स्वीकृतिको सूचकांकमा चीनले अमेरिकालाई उछिनेको जनाएको थियो । यद्यपि, अमेरिकी थिंक ट्यांक एसिया सोसाइटीको वार्षिक सर्वेक्षणले महामारीपछि चीनको छविमा सामान्य सुधार मात्र आएको देखाएको थियो ।
कार्नेगी चाइनाका गैरआवासीय विद्वान चोङ जा इयानले प्युको पछिल्लो अध्ययनलाई अपेक्षित नतिजा भएको बताएका छन् । उनका अनुसार, “बल प्रयोग र त्यसबाट हुने आर्थिक असरका कारण अमेरिकी नीतिको अस्थिरताले धेरै देशलाई चिन्तित बनाएको छ ।”
प्युको सर्वेक्षण सुरु हुँदा ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने अभिव्यक्ति दिएका थिए भने अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध कदम चालेको थियो । यही अवधिमा अमेरिका–इरान तनाव पनि चर्किएको थियो ।
डा. चोङका अनुसार, चीन पूर्ण रूपमा लोकप्रिय बनेको भन्न नसकिए पनि अहिले धेरै देशका लागि अमेरिकाभन्दा बढी पूर्वानुमान गर्न सकिने शक्ति जस्तो देखिएको छ ।
साथै, बेइजिङले विशेषगरी विकासोन्मुख देशहरूमा आफ्नो छवि सुधार्न निरन्तर प्रयास गरिरहेको उनले बताए । उनले चीनप्रतिको सकारात्मक धारणा बढे पनि राष्ट्रपति सी चिनफिङप्रतिको व्यक्तिगत विश्वास त्यति बलियो नहुनु स्वाभाविक भएको बताए । यसको कारण मानिसहरूले आर्थिक विकास र प्रविधिजस्ता उपलब्धिलाई चीनसँग जोडेर हेर्ने गरेको र दमनकारी नीतिहरूको जिम्मेवारी सीको नेतृत्वसँग जोड्नु रहेको बताए ।































