काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको औपचारिक प्रवेश चार दशकभन्दा केही लामो छ र यस क्रममा राष्ट्रिय टिमसँग जोडिएका विदेशी प्रशिक्षकको सूची बनाउने हो भने त्यो लामो हुन्छ। सन् १९८२ मा नेपालले नयाँदिल्लीमा भएको एसियाली खेलकुदबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको मानिन्छ र त्यसमै नेपाली टिमका प्रशिक्षक थिए, रुडी गुटनडफ।
नेपालले पाएका यी सबैभन्दा नामी प्रशिक्षक हुन्। उनले जर्मन बुंडेसलिगा क्लबदेखि एक दर्जन राष्ट्रिय टिम सम्हाले। यिनले नै नेपालमा आधुनिक फुटबल भित्र्याएको मानिन्छ। नत्र नेपालले त्यस अघिसम्म सुनेको र हेरेको भनेकै भारतको पश्चिम बंगलातिरको फुटबल मात्रै थियो। उनीसँगै नेपाली फुटबलमा तत्कालीन पश्चिम जर्मनीको योगदानको समय सुरु हुन्छ।
गुटनफडलगत्तै नेपालमा अर्का जर्मन प्रशिक्षक भित्रिए। उनी थिए, जोन फिगी। उनकै नेतृत्वमा हो, नेपालले सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको। सन् १९८५ मा नेपालले पहिलो पटक विश्वकप छनोट खेल्दा प्रशिक्षक थिए, प्रसिद्ध जोसेफ प्याट्रिक ‘जो’ किनर। नेपालले उनी जत्तिको प्रशिक्षक पाएकै छैन र पाउने पनि छैन।
नेपालको टिम सम्हालेको केही वर्षपछि उनले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडको जिम्मेवारी पनि उठाए। त्यही वर्ष नेपालले ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ सहभागिता जनाउँदा प्रशिक्षक थिए, ब्राजिली सान्तोस। नेपालले पाएका दक्षिण अमेरिकातिरका उनै एक्ला प्रशिक्षक हुन्। उनी कसरी नेपाल आएका थिए भन्ने रोचक कथा छ।
उनी प्रशिक्षकभन्दा पनि आफैं खेलाडी थिए, इस्ट बंगाल अथवा मोहन बगानमा आबद्ध हुन यतातिर ट्रायल दिन आएका थिए। तिनैलाई टिपेर प्रशिक्षक बनाइएको थियो। उनी नेपाली खेलाडीसँगै अभ्यास पनि गर्थे। सन् १९८७ मा नेपालले तत्कालीन पूर्वी जर्मनीका प्रशिक्षक पायो। उनको नाम थियो, हेन्ज योर्गन मिचेलेक।
उनकै नेतृत्वमा नेपालले पहिलो ओलम्पिक छनोट खेलेको थियो। भनिन्छ, उनी प्रशिक्षकभन्दा पनि बढी व्यापारी थिए। उनीपछि सन् १९८९ मा नेपालले एक अर्का जर्मन प्रशिक्षक पाएको थियो। उनी थिए, रेनहार्ट फाबिच। उनको नेतृत्वमा नेपालले सन् १९८९ मा विश्वकप छनोट खेलेको थियो। उनी नै पश्चिम जर्मनीबाट आएका अन्तिम प्रशिक्षक रहे।
सन् १९९८ मा नेपालले बैंककमा एसियाली खेलकुद खेल्दा नेपाली टिमका प्रशिक्षक थिए, दक्षिण कोरियाका यु कि ह्योङ। उनी पनि आफ्नो देशका लिजेन्ड हुन्, दक्षिण कोरियाको महिला टिम सम्हालिसकेका। उनी खेलाडीलाई असाध्यै धेरै शारीरिक पारिश्रमिक गर्न रुचाउने खालका थिए। उनी कति कडा थिए भने खेलाडीलाई साँच्चै कुट्थे।
तर, मान्छे आफैंमा असाध्यै भलाद्मी। सन् १९९९ मा गोवामा साफ च्याम्पिनसिप खेल्दा प्रशिक्षक थिए, फ्रान्क स्टिपलर। जर्मनको एकीकरणपछि उनी नेपाल आउने उताका पहिलो प्रशिक्षक थिए। उनी पनि चुपचाप आए, चाँडै हराए पनि। सन् १९९९ मा नेपालमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा एकदमै चर्चामा बस्न रुचाउने प्रशिक्षक आए– स्टेफन कन्स्टेनटाइन, जो नेपाली मिडियासँग बसेर मस्त गफ गर्न रुचाउँथे। उनी इंग्लिस प्रशिक्षक थिए। सम्भवतः उनी नै नेपाली मिडियासँग हेलमेल बढाउने पहिलो प्रशिक्षक थिए। नेपालबाट फर्केयता उनले भारत र पाकिस्तानदेखि रवान्डासम्मको टिम सम्हाले।
उनकै कार्यकालमा नेपालमा फुटबल विवाद चरम उत्कर्षमा पुगेको थियो। एकातर्फ अखिल नेपाल फुटबल संघको अध्यक्ष थिए– गणेश थापा, जसलाई फिफाको मान्यता थियो। त्यही बेला अर्को समानान्तर एन्फा पनि थियो, जसले सातदोबाटोको एन्फा कम्प्लेक्सलाई पनि कब्जामा राखेको थियो। त्यस एन्फाको नेतृत्वमा थिइन्– गीता राना। त्यही अलमलबीच उनी केही समय नेपालमै रहे। पछि एकाध अवसरमा उनी फेरि नेपाल आए। त्यति बेला उनी आफ्नो काठमाडौं बसाइबारे असाध्यै चाख मानेर कुरा गर्थे।
सन् २००५ मा कराँचीमा साफ च्याम्पियनसिप हुँदा अधिकांश खेलाडीले डेब्युको अवसर पाए र ती खेलाडी थिए– एन्फा एकेडेमीको पहिलो पुस्ता। अनि प्रशिक्षक थिए– जापानका तोसिहिरो सिवाजावा। उनी जापानबाट नेपाल आएका पहिलो प्रशिक्षक रहे। लगत्तै सन् २००६ मा नेपालले एएफसी च्यालेन्जकप खेल्दा प्रशिक्षक थिए– श्याम थापा।
उनलाई नेपाली मान्ने कि भारतीय, त्यो आफ्नो ठाउँमा छ। उनी नेपाली फुटबल विकास गर्न भनेरै आएका थिए। तर लामो समय टिकेनन्। उनको बिदाइ कार्यक्रममा केही पत्रकार मात्रै थिए। त्यति बेला उनीसँग नेपाली फुटबललाई लिएर अनेक गुनासो थिए, आफूले सोचेजस्तो गर्न नसकेकामा अनेक दुःख पनि।
उनीपछि आउँछन्– अन्तिम जर्मन प्रशिक्षक थोमस फ्लाथ। उनी साल्काको एकेडेमीसँग आबद्ध प्रशिक्षक थिए र पछिल्लो समय आएका सबैभन्दा माथिल्लो दर्जाका प्रशिक्षक पनि। उनले नेपाली मिडियासँग धेरै कम मात्रै हेलमेल गरे। सन् २००८ को साफ च्याम्पियन नेपालले उनकै नेतृत्वमा खेलेको थियो। त्यति बेला उनको एउटा भनाइ असाध्यै प्रख्यात रह्यो। उनी भन्थे, ‘मलाई मर्सिडिजजस्तो खेलाडी चाहिन्छ, मारुतीजस्तो होइन।’
त्यसपछि आएका प्रशिक्षक उनको ठीक विपरीत स्वभावका थिए– असाध्यै ठूला–ठूला कुरा गर्नुपर्ने। उनी थिए, ग्राहम रोबर्ट्स। उनी नेपाल आएका मध्ये सबैभन्दा नाम चलेका खेलाडी थिए। उनी इंग्लिस क्लब टोटनहमका कप्तान थिए। उनकै नेतृत्वमा हो, टोटनहमले सन् १९८४ मा यूईएफएकप जितेको।
सन् २०१३ मा पोल्यान्डमा जन्मेका अमेरिकी प्रशिक्षक नेपाल आए। उनको नाम थियो, ज्याक स्टेफानोस्की। उनकै समयमा हो, खेलमितो प्रकरण चलेको। यसको धेरै पछि मात्रै यसबारे जानकारी बाहिर आएको थियो। सन् २०१५ मा नेपालले एक अर्का विदेशी प्रशिक्षक पायो– प्याट्रिक असेम्स। उनकै नेतृत्वमा नेपालले साफ च्याम्पियनसिप खेल्यो।
ओसेम्स पनि लामो समय नेपाल बसेनन्। त्यति बेला नेपाली फुटबलमा फेरि एकपल्ट विवाद चर्केको थियो, आन्तरिक द्वन्द्व चरम विन्दुमै पुगेको थियो। पछि एन्फाका अध्यक्ष रहेका गणेश थापा आफैं फिफाको दस वर्ष लामो प्रतिबन्धमा परे।
सन् २०१६ मा एक अर्का जापानी प्रशिक्षक आए, जो असाध्यै गाह्रो मानेर अंग्रेजी बोल्थे। उनी थिए, कोजी ग्योतुकु। उनकै नेतृत्वमा हो, नेपालले एएफसी सोलिडारिटीकप जितेको। सन् २०१९ मा नेपालले योहान कालिनका रूपमा स्विडेन प्रशिक्षक पाएको थियो। उनी सुरुमा मछिन्द्र क्लब सम्हाल्न नेपाल आएका थिए, पछि राष्ट्रिय टिम नै हेर्ने अवसर पाए।
त्यसपछि पालो आउँछ, कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुतेरीको। उनले सन् २०२१ देखि २०२२ सम्म नेपाली टिम हेरे। उनकै पालामा नेपालले आफूभन्दा धेरै माथिको वरीयता टिमविरुद्ध पनि खेल्यो अनि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा पनि तय गरेको थियो। यो नै दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालको अहिलेसम्मको उच्च प्रदर्शन हो।
त्यही प्रदर्शनका कारण उनी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक पनि घोषित भए। त्यति बेला उनी भन्थे, ‘पत्रकारसँग मेरो कहिल्यै कुरा मिलेन तर तिनैले मलाई उत्कृष्ट माने।’ उनी जति समय नेपालमा बसे, असाध्यै चर्चामा रहे। सामाजिक सञ्जालमा खुब छाउँथे। सुरुमा सबैको प्रिय हुन मन पराउँथे, पछि खेलाडी विद्रोहकै पनि सामना गर्नुपर्यो।
उनी यसरी चुरोट खान्थे कि मानौं उनी इँटाभट्टाको चिम्नी थिए। उनी खेलाडीको विद्रोह सामना गर्ने पहिलो र एक मात्र प्रशिक्षक हुन्। उनी अनेक नाटक गरिरहन रुचाउँथे। उनीमाथि कारबाहीका लागि एन्फामा एउटा अलग्गै छानबिन कमिटी पनि बनेको थियो। त्यति बेला उनी दाबी गर्थे, ‘मलाई आफ्नो ज्यानकै सुरक्षा चाहिएको छ।’
सुरु–सुरुमा उनी नेपाल आउँदा कप्तान किरण लिम्बूको भनाइ थियो– यी प्रशिक्षक खेलाडीका बुबाजस्तै छन्, त्यस्तै माया गर्छन्। पछि उनकै नेतृत्वमा विद्रोह हुँदा उनीहरूबीच पानी बाराबारको स्थिति रह्यो। उनी कतिसम्म ज्याद्रो थिए भने खेलाडी विद्रोहकै बेला आफ्ना दोस्रो रोजाइका खेलाडी लिएर एसियाकप छनोट खेल्न कुवेत पुगे। त्यस टिमका अधिकांश खेलाडी पुलिस, आर्मी र एपीएफका थिए।
सन् २०२२ मा नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दा एउटा अनौठो अवसर जुटेको थियो। त्यस खेलमा प्रशिक्षक थिए, प्रदीप हुमागाईं। कुनै समय थ्री–स्टारका यी प्रशिक्षक पछि अमेरिका गए र उतैका भए। त्यसैले उनलाई नेपाली मूलका अमेरिकी प्रशिक्षक मान्ने कि? उनी पनि प्रायः विवादमा परिरहने प्रशिक्षक हुन् र उनको नेपाली मिडियासँग कहिल्यै राम्रो सम्बन्ध रहेन।
सन् २०२३ मा नेपालले बेंगलुरुमा भएको साफ च्याम्पियनसिप खेल्दा भने इटालीका प्रशिक्षक थिए, भिन्सेन्जो अल्बर्टोका रूपमा। उनी पनि लामो समय बसेनन्। उनी नेपाली टिम हेर्ने पहिलो इटालीका प्रशिक्षक थिए। लगत्तै सन् २०२५ मा नेपालले अस्ट्रेलियाली प्रशिक्षक पाए। उनी अनेक प्रयोग गर्न रुचाउने प्रशिक्षक थिए तर एन्फासँगको अनुबन्ध बीचमै छाडेर नेपाल फर्केनन्।
उनको नेतृत्वमा नेपालले एसियाकप छनोटको तेस्रो चरण खेलेको थियो। भनिन्छ, जति बेला उनले नेपाली टिम छाड्ने निर्णय गरेका थिए, त्यति बेला उनको एन्फासँगको सम्बन्ध चिसिइसकेको थियो। उनीपछि नै हुन्, नेपालमा एरेना आएको। उनको नेपाल बसाइ पनि धेरै अर्थमा सुखद रहेन। त्यही ठमेल भेटमा उनको अन्तिम भनाइ थियो, ‘मैले नेपाली फुटबलमा केही गर्ने मौका नै मिलेन।’































